७ बैशाख २०८१, शुक्रबार

अति विपन्नलाई खाद्यान्न सहयोग


कालीकोटः जिल्लाको रास्कोट नगरपालिकाले नगरपालिकाभित्र रहेका अति विपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा रास्कोट नगरपालिकाका गरिव परिवारहरुलाई दशै मनाउनका लागि खाद्यान्न सहित आर्थिक सहयोग गरेको हो । नगरपालिका भित्र रहेका ५५ जना अति विपन्न घर परिवारलाई खाद्यान्न सहित नगद सहयोग गरेको हो । दशैको मुखमै नगरभित्र रहेका गरिवको घरमा छाक टार्नै मुस्किल भइरहेका बेला नगरपालिकाले यसपटकको दशैलाई हर्ष उल्लासका साथ मनाउनका लागि सहयोग गरिएको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए । उनले भने, ‘नगरभित्र रहेका अति विपन्न एकल महिलाहरुका लागि खाद्यान्न सहित नगद सहयोग गरेका हौं ।’ नगरपालिकाका प्रत्येक वडाबाट ५ जनाका दरले ४५ जना र नगरपालिमा भित्र रहेका गरिव एकल महिला गरि ५५ जना अति विपन्न परिवारलाई परिवारलाई १ प्याक चामल, एक पोका खाने तेल, १ किलो चिनी, ५ पोका नुन र ५ सय नगद सहयोग गरेको प्रमुख बरालले बताए । हुनेले नहुनेलाई सहयोग गर्नु मानवीय जिम्मेवारी भएकाले आफ्ना नगरपालिका भित्रका नागरिकलाई सहयोग गर्न पाउदा खुसी लागेको प्रमुख बरालको भनाई छ । नगरपालिका मार्फत दशैँ, तिहार, छठ जस्ता चाडपर्वको अवसरमा नियमित सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत गरे । नगरपालिकामा दशै विशेष कार्यक्रम एवं जमरा ग्रहण कार्यक्रमको अवसरमा रास्कोटका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको प्रमुख बरालले बताए । आफुहरुले नगरपालिकाबाट दशैका लागि सहयोग पाएकोमा खुसी लागेको रास्कोट नगरपालिका–९ का परिमले कामीले बताए । उनले गरिव परिवारको दशै मनाउनका लागि रास्कोटले दिएको सहयोगको सधै आफु ऋणी भएको बताए । हामीलाई दशै मान्नै धौ थियो रास्कोट नगरपालिकाले केही सहयोग गर्यो र हाम्रो घाउमा मलहम लगाएको छ । कामीले भने, ‘अहिले साच्चिकै सरकार आएको महसुष भएको छ ।’ उनीमात्र होईन दिपबहादुर खड्काले खुसी व्यक्त गरे । उनले भने, ‘सिहदरवारको अधिकार गाउँगाउँमा आएको भन्थ्ये साच्चै रहेछ ।’