शिक्षक बनाइदिने भन्दै खसी घुस लिएको खुलासा


कालीकोटः स्थानीयलाई बालबिकासमा शिक्षक बनाई दिने भन्दै वडाध्यक्षले खसी घुस लिएको रहस्य खुलेको छ । शान्नित्रिवेणी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जनक बहादुर केसीले स्थानीय विमला केसीसंग विद्यालयमा शिक्षिका नियुक्त गरिदिने भन्दै खसी घुस लिएका हुन् ।
वडाअध्यक्षले स्थानीय लालिगुराँस आधारभुत विद्यालयमा बालशिक्षामा नियुक्ति गरिदिन्छु भनेर १४ हजार मुल्यको खसी र मदिरा खाएको विमलाको आरोप छ । ‘वडाध्यक्ष सहितको टोलीले बालबिकासमा शिक्षिका नियुक्त गरिदिने भन्दै खसी काटेर खानु भएको हो’ उनले भनिन्, ‘तीन बर्ष नीजि स्रोतबाट विद्यालयमा पढाए पनि स्थानीय तहको चुनाव पछि मलाई स्रोतले नधानेको भन्दै हटाइएको थियो ।’
विद्यालयले बालशिक्षाका लागि आवेदन माग गरेपछि वडाध्यक्ष जनकबहादुर केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्ध सहकारी र प्रधानाध्यापक आशा सहकारीले शिक्षीका बनाउने भन्दै खसी खाएर नियुक्ति पनि दिए तर स्कुलमा हाजिर हुन नदिएको विमलाको आरोप छ । ‘अध्यापन अनुमतिपत्र नभएको बारे वडाध्यक्षलाई भन्दापनि कुरा मिल्छ भन्दै खसी काट्न लगाए’ उनले भनिन् ।
पहिलोपटक नियुक्ति गर्दा कुखुरा खाएका वडाध्यक्ष सहितको टोलीले भदौको नियुक्ति दिँदा १० हजारको खसी २ हजारको कुखुरा खाएको विमलाले बताईन् । वडाध्यक्ष केसीले बिमलाको जागिरका लागि पहल गरिरहेको बताए । अरुको अध्यापन अनुमतीपत्र भएपनि ल्याउनुस् भनेको अध्यक्ष केसीले बताए ‘उनले अनुमतिपत्र ल्याउनु भएन’ उनले भने, ‘नियुक्ति दिईएकोले जसरी पनि विमलालाई जागिर दिन्छौ ।’ विमला नियुक्ती भएको खुशीयालीमा खसी काटेर खाएको अध्यक्ष केसीले स्वीकार गरे ।
विद्यालयका प्राधानाध्यापक आशा सहकारीले बालशिक्षामा शिक्षक नियुक्त नभएको बताइन् । उनले विमलालाई भदौ महिनामा नियुक्ति दिएको भएपनि लाइसेन्स नहँुदा विद्यालयमा हाजिर नगराइएको बताईन् । ‘नियुक्ति दिइसकेको भएपनि विमलाको लाइसेन्स नभएकाले आफुहरुले पुनः विज्ञापन गरिएको छ’ उनले भनिन् ।
कर्णालीपाटी । ६ मंसिर २०७६, शुक्रबार १४:४४