७ जेष्ठ २०८१, सोमबार

दुई वर्षदेखि डोल्पामा अपरेसन ठप्प


डोल्पा । जिल्ला अस्पताल डोल्पामा २ वर्षयता एउटै पनि शल्यक्रिया भएका छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ डाक्टर र शल्यक्रिया गर्ने चिकित्सक नपठाउँदा जिल्ला अस्पतालमा सामान्य शल्यक्रियासमेत रोकिएको हो । जिल्ला अस्पतालमा शल्यक्रिया रोकिँदा बिरामी जिल्ला बाहिरका अस्पताल जान बाध्य छन् ।
सरकारसँग विशेषज्ञ सेवा दिने सम्झौता गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डोल्पामा २ वर्षयता एउटै पनि विशेषज्ञ डाक्टर र सर्जन पठाएको छैन । डाक्टर अभावमा अस्पतालले शल्यक्रिया बन्द गरेको बताएको छ । प्रतिष्ठानले पछिल्लो २ वर्षयता कुनै पनि विशेषज्ञ चिकित्सक र सर्जन नपठाएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।

एक जना विशेषज्ञ डाक्टर, सर्जन र शल्यक्रिया फाँटकै नर्ससहित अन्य दर्जन कर्मचारीका साथ हिमाली तथा पहाडी जिल्लाका अस्पतालमा सेवा दिने सम्झौता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारसँग गरेको थियो । तर सम्झौताअनुसार सेवा नदिएपछि डोल्पाका बासिन्दा अपरेसन र उपचारबाट वञ्चित भइरहेका हुन् । ‘बारम्बार अनुरोध गरेका छांै । खाने र बस्न व्यवस्थापन पनि गरिएको छ’, डा. रावलले भने, ‘तर यो र त्यो भन्दै अनेक बहानामा प्रतिष्ठानले डाक्टर पठाएको छैन । यसैकारण २ वर्षदेखि एउटै पनि शल्यक्रिया भएका छैनन् ।’
जिल्ला अस्पतालमा अपरेसन बन्द हुँदा सबैभन्दा बढी समस्या प्रसूति विभागमा परेको छ । जिल्लामै विशेषज्ञ चिकित्सक र शल्यक्रिया गर्ने डाक्टर नहुँदा गर्भवतीलाई प्रसूति गराउन जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ । सम्झौता अुनसारको सेवा पनि नदिने र अन्य कुनै पनि निकायलाई सेवा सञ्चालन गर्ने बाटो पनि छेकिदिँदा डोल्पाका बिरामीले पाउने सेवा कटौती भएको जिल्ला अस्पतालले जनाएको छ ।
नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले उपचार अभावमा बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएको दुखेसो पोखे । उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरेर राजधानी वा अन्यत्र जानसक्ने क्षमता सबैको नभएको भन्दै उनले उपचार नै नपाइ बिरामीको मृत्यु हुने स्थिति आएको बताए ।