जुनीचाँदेका अध्यक्ष र वडाध्यक्षविरुद्ध मुद्दा दायर


सुर्खेत । जाजरकोट जुनिचाँदे गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षविरुद्ध विगो दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । घुस रकमसहित रंगेहात पक्राउ परेको जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र ५ नम्बर वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
केसी र शाहीबाट २५ लाख ५० हजार रकम विगो मागदावी अख्तियारले गरेको आरोप पत्रमा उल्लेख छ । केसी र शाहीको मिलेमतामा कमिसन दिनुपर्यो भनी धाकधम्की समेत दिएको अख्तिायरले जनाएको छ । उनीहरुले पटक–पटक नगद र बैंक खातामा रकम दाखिला गर्न लगाई घुस दिन बाध्य पारेको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख गरेको छ ।
सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गेनिङ गरी पटक–पटक नगदै लिएको, बैंक खातामा जम्मा तथा बिभिन्न होटलमा तिर्न लगाएको र गाडी रिजर्भको भाडा तिर्न लगाई २५ लाख ५० हजार घुस लिएको स–प्रमाण पुष्टि हुन आएको छ’ अख्तियाररले दर्ता गरेको आरोपपत्रमा भनिएको छ ।
निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भए गरेकोले निजहरुलाई बिगो कायम गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी गरिएको अख्तियारले जनाएको छ ।
अध्यक्षसहित एक शिक्षकलाइ माघ १० गते अख्तियारको टोलीले वीरेन्द्रनगरबाट आठ लाख घुस रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको थियो । शिक्षक भरिया मात्रै भएको भन्दै उनलाइ अनुसन्धानका क्रममा छोडेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालय स्रोतले जनाएको छ ।
कर्णालीपाटी । २३ फाल्गुन २०७६, शुक्रबार १४:४६