पूर्व गाविस उपाध्यक्ष सहित दजनौं काँग्रेसमा प्रवेश


कालिकोटः जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं ७, ८ र ९ मा नेपाली कांग्रेसको अगुवा नेता तथा कार्यकर्ताको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका निबर्तमान सभापती कालीबहादुर सहकारी, प्रदेश ख का सभापती दमनबहादुर शाही, महाधिवेशन प्रतिनिधि दानबहादुर बम, कांग्रेस नेता दुर्ग केसी, बिरेन्द्र केसी, रत्न बुढा लगायतका नेताहरुको उपस्थितिमा सान्नीत्रिवेणी गाँउपालिका वडा नं ७, ८ र ९ मा नेपाली कांग्रेसको अगुवा नेता तथा कार्यकर्ताको भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साविकको मुम्रा गाविस उपाध्यक्ष तथा नेकपाका नेता चन्द्रलाल सिम्खाडा सहित दर्जनौँ नेता तथा कार्यकर्ताहरु नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । २०५४ सालमा नेकपा एमालेबाट गाविस उपाध्यक्ष निर्बाचित भएका स्थानीय स्तरका लोकप्रिय नेता सिम्खाडाले कांग्रेसको बिचार र कांग्रेस प्रति नागरिकको बिश्वासका आधारमा नेकपा परित्याग गरेको बताए । उनले अब कांग्रेसबाटै राजनीतिक भबिश्य निर्माण गर्ने अभियानमा लाग्ने जानकारी दिए । कार्यक्रममा नेकपा परित्याग गरी सुरेन्द्र केसी, दिनेश केसी, बिर्ख केसी, अग्र सहकारी, मानबहादुर केसी, भद्धा केसी, दिर्ग सुनार, शक्ति केसी, उदयराम केसी लगायतका दर्जनौँ नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका निर्वतमान पार्टी सभापती कालीबहादुर सहकारीले नेकपा दुई तिहाईको बर्तमान सरकार काण्डै काण्डमा डुबेको बताए । उनले मुलुकमा कांग्रेस कमजोर हुँदा सार्बभौमसत्ता, राष्ट्रिय अखण्डता कमजोर भएको बताउदै मुलुकको अखण्डता बलियो बनाउन अब कांग्रेसको बिकल्प नरहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस कालिकोट प्रदेश सभा ख का सभापती दमनबहादुर शाहीले स्थानीय तहदेखी संघिय सरकारसम्म भ्रष्टाचारको शिकार भएको भन्दै जिल्लामा भ्रष्टाचारको बिरुद्धमा कांग्रेसले भण्डाफोर गर्ने बताए । उनले अहिलेका स्थानीय सरकारले जनचाहाना भन्दा आसेपासेलाई योजना निर्माणमा लगाएकाले यसले जिल्लाको समग्र विकास प्रभावित हुने ठोकुवा गरे । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दानबहादुर बमले हिजो दलितको मुद्धामा वकालत गर्ने माओबादीहरु नै अहिले बढी दलितलाई बिभेद गर्ने गरेको बताए । उनले कांग्रेसले सबै जाति, सबै भाषिहरुको सम्मान गर्ने गरेको जानकारी दिए । केही दिन अगाडी कांग्रेसका निर्बाचित जनप्रतिनिधि सहित केही नेताहरु नेकपामा प्रबेश गरेको भन्ने सूचना भ्रम रहेको काँग्रेसले दावि समेत गरेको छ । कार्यक्रममा सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ७, ८ र ९ का स्थानिय नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।
कर्णालीपाटी । ४ चैत्र २०७६, मंगलवार १९:०२