६ बैशाख २०८२, शनिबार

जातीय छुवाछुतको आरोपमा बुढा पक्राउ


कालीकोटः प्रहरीले एकजना वडा सहायकलाई जातीय छुवाछुत गरेको आरोपमा पक्राउ गरिएको छ । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ७ का दलबहादुर बुढालाई प्रहरीले जातीय छुवाछुत गरेको भन्दै पक्राउ गरेको हो ।
उनले नरहरिनाथ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष दलवहादुर विश्वकर्मामाथि जातीय छुवाछुत गरी कुटपिट गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाले बताए । उनले पीडक बुढालाई पक्राउ गरिसकेको बताए । आरोपी वुढाविरुद्ध जातीय छुवाछुत भेदभाव गरेको भन्दै पीडित वडाध्यक्ष विकले मंगलबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दर्ता गराएका थिए । आरोपी वुढाले फागुन २९ गते वडा कार्यलयमै पीडित विश्वकर्मालाई अपशव्द बोल्दै हातपात तथा गाली गलौज र जातीय विभेदित शब्द प्रयोग गरेको पीडितले उजुरीमा उल्लेख गरेका छन् ।
जातीय छुवाछुत तथा भेदभावपूर्ण व्यवाहार सम्वन्धी जाहेरी आएकाले आरोपीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक श्यामवाबु ओलीयाले बताए । नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनिय व्यवस्था गरेको छ । जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
पछिल्लो समयमा जनप्रतिनिधि नै जातीय छुवाछुतको सिकार भइरहेका छन् । कालीकोटमा हेर्ने हो भने फागुन र चैत महिनामा २ वटा जातीय छुवाछुतका घटना घटेका छन् जसमा जनप्रतिनिधि नै जातीय छुवाछुतमा परेका छन् ।