५ जेष्ठ २०८१, शनिबार

कालिकोटका ८ जनाको कोरोना रिपोर्ट नेगेटिभ


कालीकोटः कालिकोटबाट कोरोनाको संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पठाइका ८ जनाको रिर्पोट नेगेटिभ आएको छ । कोरोना संक्रमितसँगसँगै विमानमा आएका तथा बिदेशबाट आएका व्यक्तिहरु ८ जनालाई कोरोना परीक्षणका काठ्माण्डौ पठाइएको थियो ।

परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए । उनका अनुसार ४ जना बिदेशबाट आएका, २ जना भारतबाट आएका र २ जना बिदेशबाट आउनेहरुसँग सुर्खेत र कैलालीबाट आएका व्यक्तिहरुको स्वाब संकलन गरी परिक्षणका लागि पठाएको हो । कोरोना भाइरस संक्रमण हुन सक्ने आशंकामा जिल्लाका ९ वटै स्थानिय तहका क्वारेन्टाईनमा राखिएका करीव एक सय जनालाई घर पठाईएको छ । हरेक व्यक्तिलाई १४ दिनसम्म राख्दा कोरोनासंग मिल्दाजुल्दा कुनै लक्षण नदेखिएपछि उनीहरुलाई घरमा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए ।

जिल्लाभर ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रमूख जिल्ला अधिकारी पौडेलका अनुसार जिल्ला स्वास्थ्ये सेवा कार्यालय, जिल्ला अस्पताल र प्रशासनको नियमित बैठकवसी कोरोनाको महामारी रोकथामका लागि आवश्यक पुर्व तयारीहरु सम्पुर्ण रुपमा गरिएको छ । हालसम्म जिल्लामा कुनै पनि व्यक्तिमा संक्रमण नदेखिएको, कोरोनाको लक्षण भएको बिरामी समेत नरहेको उनको भनाई छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले जिल्लाभर क्वारेन्टाईनमा राखिएका सबै व्यक्तिहरुको स्वाब संकलन गर्ने जनाएको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी महतका अनुसार जिल्लाभर ३५ जना शंखस्पत व्यक्तिलाई स्थानिय तहले क्वारेन्टाईनमा राखेका छन् । उनीहरुको स्वाब संकलन गरी परिक्षणका लागि पठाउने तयारी गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि प्रदेश सरकारको सहयोगमा ५७ सेट स्वास्थ्यकर्मी सुरक्षा सामग्रीहरु पनि आईसकेको छ । जनस्वास्थ्य अधिकृत महतले भने, अब हामी हरेक स्थानिय तहमा टोली बनाएर स्वाब संकलनका लागि जान्छौँ । जिल्लाका हरेक स्थानिय तहमा परिचालन भएका स्वास्थ्यकर्मीहरुका लागि सुरक्षा सामग्री स्थानिय तहले व्यवस्थापन गर्दैछन् । अहिलेसम्म जिल्लाका कुनै पनि ठाँउमा कोरोनाको लक्षण भएको बिरामी नरहेको सूचना प्राप्त भएको छ । बिदेशबाट लुकेर गाँउ पसेका व्यक्तिहरुबाट कोरोनाको संक्रमणको त्रास छ ।