१५ बैशाख २०८१, शनिबार

लकडाउनको अवधीमा झण्डै ६० हजार कर्णालीबासी बिदेशबाट फर्किए


सुर्खेत । कोरोना संक्रमणका कारण रोजगारीका लागि बिदेशिएका ५० हजार कर्णालीबासी फर्किएका छन् । कर्णालीका १० वटै जिल्लाबाट रोजगारीको शिलशिलामा भारतलगायत विभिन्न ठाउँमा गएका नागरिकहरु कर्णाली फर्किएका हुन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा काुनन मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा लकडाउन भएको चैत्र ११ गतेदेखि हालसम्म ५३ हजार चार सय कर्णालीबासी बबई नाका भएर कर्णाली प्रवेश गरेका हुन् ।

कर्णालीका अधिकांश मानिसको रोजगारीको प्रमुख गन्तव्यको रुपमा रहेको भारतबाट कारोना भाइरस (कोभिड १९)को महामारी फैलिएसंगै नागरिकहरु स्वदेश फर्किएको मन्त्रालयमा सुचना अधिकारी कृष्णबहादुर रोकायाले बताए । कोरोनाका कारण रोजगारी गुमाएका तथा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै हजारौँको संख्यामा भित्रिने क्रम भने पछिल्लो समयमा कम हुँदै गएको छ । तर दैनिक सयौँको संख्यामा मानिसहरु अहिले पनि आइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बबई नाका मात्रै नभएर कर्णालीका अन्य नाकाबाट पनि मानिसहरु भित्रिरहेका छन् । मन्त्रालयका सुचना अधिकारी रोकायाले मुख्य नाका बबई भएकाले अन्य नाकाबाट न्यून मात्रामा प्रवेश गरेको बताए । ‘अन्य नाकाको पनि तुलना गर्ने हो भने हालसम्म ६० हजारसम्म मानिसहरु भित्रिएका छन्’,उनले भने, ‘पछिल्ला समय अन्य नाकाबाट प्रवेश गर्नेको संख्या शुन्य जस्तै छ । तर बबई नाकाबाट भने मानिसहरु भित्रिएका छन् ।’

मन्त्रालयका अनुसार साउन २१ गते बबई नाकाहुँदै एक सय ६२ जना कर्णाली प्रवेश गरेका छन् । यस्तै २० गते २७ जना र १९ गते ७७ जना मानिस भारतबाट कर्णाली प्रवेश गरेका हुन । यस्तै २२ गते दिउँसो सम्म २२ जना प्रवेश गरेको मन्त्रालयको तथ्याङ्ककमा उल्लेख छ । यस्तै लकडाउन अवधिभर बबई नाका हुँदै तेस्रो मुलुकबाट ६ सय १० जना मानिस कर्णाली प्रवेश गरेका छन् । देशका अन्य प्रदेशबाट १८ हजार चार सय ४३ जना मानिसहरु प्रवेश गरेका छन् ।

सरकारले भारत तथा तेस्रो मुलुकबाट आएका मानिसहरुलाई मात्रै क्वारेन्टिनमा राखेर कोरोना चेक गर्ने अन्य क्षेत्रबाट आएका मानिसलाई नाकामा ज्वरो चेक गरेर पठाउने गरेको छ । लकडाउन खुला भएसंगै कर्णालीमा कोरोनाको संक्रमणको जोखिम बढ्दै गएको छ । संक्रमणको जोखिमबाट बच्न नाकामा नै कडाई गर्नुपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।

जोखिमलाई ध्यानमा राख्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बबई नाकाबाटै पिसिआर परिक्षण गर्ने बताएका छन् । तर पिसिआर चेकजाँच कहिलेबाट गर्ने भन्ने बिषयमा प्रदेश सरकारले निर्णय गर्न सकेको छैन ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले प्रदेश सरकारको निर्देशनमा पछिल्लो समयमा नाकाहरुमा कडाई गरिएको बताए । ‘हाल बबई नाका, सुब्बाकुना नाकाहरुमा कडाई गरिएको छ’, उनले भने, ‘मानिसहरु आउने क्रम घटेको छैन । भारत तथा अन्य प्रदेशबाट पनि मानिसहरु भित्रिरहनु भएको छ । त्यसैले थप निगरानी अघि बढाउन आवश्यक छ ।’