४ जेष्ठ २०८१, शुक्रबार

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन, जागिरको लागि काम गर्ने मानसिकता त्याग्नुस


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्मचारीलाई जागिरको लागि मात्रै काम गर्न आएको भन्ने मानसिकता त्याग्न निर्देशीत गरेका छन् । कर्णालीमा सेवाभाव सहित काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिएका हुन ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक समीक्षा गोष्ठिलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको गरीबी, भौगोलिक विकटता र अविकासको अवस्थालाई हेरेर उच्च सेवाभाव सहित काम गर्नु आग्रह गरेका हुन ।

तुलनात्मक रुपमा अघिल्ला आर्थिक वर्षहरुभन्दा मन्त्रालयको प्रगति सुधार भएको भएपनि सन्तोषजनक नरहेको बताउदै मुख्यमन्त्री शाहीले मन्त्रालय एवंम मातहतका निकायको कार्य क्षमतामा वृद्धि गर्नुपर्ने बताए ।

उनले कर्मचारीहरुको उत्प्रेरणाका लागि सरकारले कार्यसम्पादनको आधारमा प्रोत्साहन प्याकेज ल्याउने समेत बताए । जागिरको लागि काम गर्ने मानसिकता परिवर्तन नभएसम्म विकास र समृद्धिको अभियानले सार्थकता नपाउने उनको जोड थियो ।

‘जसको छाक काटेर तलव आउछ, उसको अनुहारमा खुशी ल्याउनु हाम्रो दायित्व हो ।’ मुख्यमन्त्री शाहीले भने, ‘आधारभुत वर्गका जनताको आर्थिक जीवनमा समृद्धि नआएसम्म कागजमा देखाईने प्रगतिको कुनै औचित्य छैन ।’
मुख्यमन्त्री शाहीले विगतका वर्षहरुमा देखिएका कमीकमजोरीबाट पाठ सिकेर चालु आर्थिक वर्षको योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन समेत निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षको अख्तियारी सम्वन्धित कार्यालयमा पुगिसकेको बताउदै वजेट अख्तियारी, संरचना र कर्मचारी अभावको कारण देखाएर कमजोर कार्यक्षमताको ढाकछोप गर्न नहुने बताए ।