२१ बैशाख २०८१, शुक्रबार

सुरक्षाकर्मी, कर्मचारी सहित थप २८ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप २८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा २० जना, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा ६ जना र दैलेख अस्पताल दैलेखका गरिएको परिक्षणमा दुई जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेहरुमा सुर्खेतका १७ जना, रुकुम पश्चिमका चार जना, दैलेख र सल्यानका दुई, दुई जना, जाजरकोट, मुगु र चितवनका एक, एक जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार सात सय १९ पुगेको छ ।

संक्रमित हुनेहरुमा सुरक्षाकर्मी, संस्थानका कर्मचारी, प्रदेश अस्पतालमा उपचाररत बिरामीहरु रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा एक जना सुरक्षाकर्मी, एक जना संस्थाका कर्मचारी र पाँच जना प्रदेश अस्पतालको इमरजेन्सी कक्षमा उपचाररत बिरामी, एक जना भारतबाट आएर क्वारेन्टिनमा बसेका मानिस रहेको जानकारी दिए । साथै अन्य संक्रमितहरु कन्ट्रयाक ट्रेसिङको क्रममा संक्रमण देखिएको जानकारी दिए ।

थप १४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । यो संगै हाल सम्म कुल डिस्चार्ज हुनेको संख्या दुई हजार तीन सय ५४ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

हाल सम्म कुल संक्रमण पुष्टी भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ भने तीन सय ५९ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको जानकारी दिइएको छ ।