१ जेष्ठ २०८१, मंगलवार

हिल्सा नाका खोल्न माग


सुर्खेत । छिमेकी देश चीनसँग जोडिएको हुम्लाको हिल्सा नाका सञ्चालनमा ल्याउन माग गरिएको छ । कोभिड– १९ को संक्रमणले बिगत सात महिना देखि बन्द हिल्सा नाकालाई सहज बनाउन उद्योग वाणिज्य संघ हुम्लाले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र दिँदै माग गरेको हो ।

उत्तरी हिल्सा नाका कोभिड– १९ को संक्रमणले सीमा बन्द भएपछि व्यापारीहरूको व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरिएको हो । चीन र नेपालको मैत्रीपूर्ण लगानी रोकिँदा साना, मझौला, ठूला व्यवसायहरू आर्थिक संकटको घेराबन्दीमा परेको, अर्कोतर्फ कर्जाको ब्याजले सताएको हुम्ला उद्योग वणिज्य संघका अध्यक्ष नामग्याल तामाङले जानकारी दिए ।

सीमा क्षेत्रमा रहेका व्यापारीको कारोबार र दैनिक उपभोग्य वस्तु विकास निर्माणका सामानहरू मालसामान ल्याउन समस्या भएको अध्यक्ष तामाङको भनाइ छ ।

लकडाउनका कारण हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीहरूको व्यापार ठप्प हुँदा आफूहरु मर्कामा परेको व्यापारीहरूले गुनासो गर्ने थालेका छन् । हिल्सा नाका बन्द भएपछि व्यापार–व्यवसाय ठप्प हुँदा राजस्वमा घाटा हुनुका साथै ग्राहकहरूले सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको ज्ञापनपत्रमा उल्लेख छ ।