२१ बैशाख २०८१, शुक्रबार

जाजरकोटमा जीप दुर्घटना, वडा अध्यक्षसहित ६ जनाको मृत्यु


सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा जुनीचाँदे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट जुनिचाँदेको पराले जाँदै गरेको भे १ ज ३३५ नम्बरको जीप बुधबार दिउँसो दुर्घटना हुँदा वडाध्यक्ष अमरबहादुर शाही सहित ६ जनाको मृत्यु भएको हो ।

सोही गाउँपालिका ५ मटेलाका मालिका बस्नेत, कृष्णबहादुर शाही, ११ वडा नम्बरका कृतिबहादुर शाही, स्वास्थ्यकर्मी खेमबहादुर शाहीको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । दुर्घटनामा परि दुई जना अझै वेपत्ता रहेको उनको भनाई छ ।

दुर्घटनामा गम्भिर घाइते भएका नरबहादुर बुढालाइ गाउँपालिकाको गाडीमा थप उपचारको लागि सुर्खेत पठाइएको प्रजिअ बरालले बताए । उनका अनुसार जीप सडकबाट अन्दाजी पाँचदेखि सात सय मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेका र वेपत्ताको खोजी भइरहेको उनको भनाई छ ।