२० बैशाख २०८१, बिहीबार

ओली प्रचण्डले बोलाए नेताहरुलाई काठमाडौँ


सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगे पछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं बोलाएका छन् ।

कर्णाली प्रदेशको विवादलाई लिएर मंगलबार बालुवाटारमा भएको ओली–प्रचण्डको छलफलपछि प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलाइएको हो । उनीहरुलाई बिहीबार काठमाडौं आउन भनिएको स्रोतले जनाएको छ ।

कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाएका हुन् । आइतबार दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद छताछुल्ल भएको छ ।

अविश्वासको प्रस्ताव दर्ता भए पनि मंगलबार माधव नेपाल–प्रचण्ड समूहका कर्णालीका नेताबीच सहमति हुँदा अविश्वासको प्रस्ताव ‘फेल’ भएको छ ।
माधव नेपाल पक्षका ३ जनालाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका ७ सांसद फिर्ता भएका छन् । यसले गर्दा मुख्यमन्त्री महेन्द्र बहादुर शाही भने सुरक्षित रहेका छन् ।