विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने


काठमाडौं । विदेशी लगानी भित्र्याउन अब नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गरी नेपालमा लगानी ल्याउन स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकको जेठ १७ गते बसकेको सञ्चालक समितिले विनियमावली स्वीकृत गरेको थियो । सञ्चालक समितिबाट पारित भएपछि केन्द्रीय बैंकले मंगलबार विनियमावली जारी गरेको हो । विदेशीले कम्पनी तथा उद्योगको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ्ग प्रणालीमार्फत नेपाल पठाउन/भित्र्याउन डलरमा हुने लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य नपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।
विदेशी मुद्रा लगानी हुने कम्पनी तथा उद्योगको कायम हुने चुक्ता पुँजीको ३ प्रतिशतमा नबढ्ने गरी लेखापरीक्षकबाट खर्च प्रमाणित गरे बमोजिम विदेशी लगानीमा गणना गर्न सकिने व्यवस्था गरिएको छ । सोको लेखाङ्कन विनियम ५ बमोजिम गराउनु पर्नेछ । तर, विदेशी लगानी हुन नसकेको खण्डमा वा विदेशी लगानीमा गणना भएको रकमभन्दा बढी रकम भएमा त्यस्तो रकम फिर्ता पठाउन सकिने छैन ।
बैंक तथा वित्तीय संस्थाले इच्छुक विदेशी लगानीकर्ता वा निजको आधिकारिक स्थानीय प्रतिनिधिको खातामा जम्मा गरिदिन सक्नेछ । उक्त रकम जम्मा गरिदिन इच्छुक विदेशी लगानीकर्ता र निजको आधिकारिक स्थानीय प्रतिनिधि भए निजबाट बैंक तथा वित्तीय संस्थाले निवदेन लिनु पर्नेछ ।
लगानीकर्ताले विदेशी लगानीको स्वीकृति प्राप्त गरेपछि विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन । तर,लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व लिखित जानकारी दिनु पर्ने विनियमावलीमा उल्लेख छ । नेपाल भित्रिएको विदेशी लगानी बापतको रकम बैंक तथा वित्तीय संस्थाले अनुसूची–३ बमोजिमका कागजातहरूको यकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्नेछ ।
कर्णालीपाटी । २५ जेष्ठ २०७८, मंगलवार १४:१९