विदेशको भन्दा राम्रो कमाई गाउँमै छ

कालीकोटः खाडाचक्र नगरपालिका–६ का विकास शाहीले विरुवा बेचेर बर्सेनी २०÷२२ लाखको कारोवार गर्दै आएको बताछन् । २२ वषिय शाहीले आफु पढ्दा आर्थिक समस्याले सताएको बताए । कृषि जेटिए पढेका शाहीले रोजगारी खोजेपनि कतै नपाएपछि उनी नसरी व्यवसाय तर्फ लागे ।
उनले दुई दाजु भाईको नाममा समाज बिकास फलफुल बिरुवा उत्पादन नसर्री दर्ता गरि व्यवसायीक रुपमा लागेर मनग्य आम्दानी गर्दै आएका छन् । आफ्नो व्यक्तिगत ६ लाखको लगानीबाट नर्सरी सुरु गरेको विकास बताउछन् । २०७५ सालदेखि आफु नर्सरी व्यवसायमा लागेका बताए ।
अहिले नगरपालिकाले नर्सरी अनुदानमा १ लाख मात्र सहयोग गरेको विकासको भनाई छ । उनले भने, ‘आफुसंग प्रयाप्त लगानी छैन, अनुदानका लागि धेरै ठाउँ धाए । कसैले दिएनन्, पावर र पहुँचको आधारमा अनुदान वितरण हुने रहेछ म जस्ता बास्तविक कृषकलाई अनुदान पाउनै मुस्किल रहेछ ।’ विकासले भने, ‘कृषि पढेको मान्छे, खाडाचक्र नगरपालिकाका कृषि शाखा प्रमुख प्रशुराम काफ्लेको प्रेरणा पाएर आफु नर्सरीमा लागेका हुँ ।’
उनले आफुले हिउँदमा ओखर, स्याउँ र नास्पतिका विरुवा र वर्खामा सुन्तला, कागति, जुनार, अनार, बास, टिमुर र अम्बाका विरुवा उत्पादन गर्दै आएको बताए । कालिकोटमै बृहत् नर्सरी स्रोत केन्द्र स्थापना गर्ने सोच रहेको विकासको भनाई छ । प्राकृतिक रुपमा धनी, सुहाउँदो माटो भएकाले कुनै निकायबाट सहयोग पाएमा आफुले बृहत नर्सरी स्रोत केन्द्र स्थापना गर्ने सोच रहेको शाहीले बताए । उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारणले नै आफ्नो सोच पुरा नभएको जनाए ।
कालीकोटमा सवै बिरुवा उत्पादन गर्ने सुहाउदो माटो छ । खाडाचक्रको दाहामै ४२ प्रजातिका बिरुवा जडिबुटी उत्पादन गर्न सकिने बताए । शाहीmले आफुले कमाएको आम्दानी नर्सरीमै लगानी गरेर व्यवसाय बढाएको बताए । विरुवा लिन कालीकोटमात्र नभएर अन्य जिल्लाबाट पनि आउने गरेको बताए । अहिले शाहीको नर्सरीमा ४० हजारभन्दा बढी विरुवाहरु रहेका छन् ।


जीवन धान्न सजिलो
३ वर्षदेखि नर्सरी सञ्चालन गरिरहेका खाडाचक्र नगरपालिका–६ दाहाँका विकास शाही विरुवाबाट मनग्य आम्दानी गरिरहेको बताउछन् । आफ्नो पढाई पनि कृषि जेटिए भएकाले पनि नर्सरीमै राम्रो लाग्ने गरेको शाहीले बताए ।
उनी भन्छन, ‘नर्सरीबाट बर्षेनि २०–२२ लाख रुपैयाँ कमाइ हुन्छ । परिवार पाल्न, भाई बहिनी पढाउन र आफु अहिले आइ एसी एजि पढ्न र अप्ठ्यारो पर्दा छरछिमेकलाई सहयोग गर्न पुगेको छ ।’


बदलिँदै जीवन
नर्सरीले आफ्को जीवनमा परिवर्तन ल्याएको र रोजगारीको खोजीमा बर्सेनि कालापहाड जानुपर्ने बाध्यता पनि अन्त्य भएको शाहीको दावि छ । उनी भन्छन्, ‘लाउ खाउ भन्ने युवाहरु रोजगारीका लागि विदेशीनु भन्दा पनि आफ्नै ठाउँमा थोरै लगानी गरे राम्रो कमाई हुन्छ । अहिले अधिकाँश युवाहरु कालापहाड जाने गर्छन् । कालापहाडको कमाइले खानालाउनै पुग्दैन । आफ्नै ठाउँमा केही गर्नुपर्छ ।’ शाही भन्छन्, ‘पहिला अरूसँग सापट माग्थ्यौँ, अहिले अरूलाई दिने भएका छौँ ।’ पैसा कमाउन थालेपछि समाजले हेर्ने दृष्टिकोण पनि बदलिएको शाहीको अनुभुति छ ।