५ मंसिर २०८२, शुक्रबार

कक्षा १२ को परीक्षा अब भौतिक उपस्थितिमै हुने


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी थालेको छ।

सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि आज बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।

परीक्षा भदौ ९ गते सकिनेछ । बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । परीक्षा सय अंककै लिने भएको छ । परीक्षा बोर्डले बिहान १०.४५ देखि सुरु गर्ने भएको छ । कार्यतालिका १/२ दिनमै प्रकाशित हुनेछ ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि अनलाइन विधिबाट परीक्षा लिने चर्चा चले पनि संक्रमण दर कम भएकाले भौतिक उपस्थितिमै परीक्षा लिन लागिएको हो । बोर्डले परीक्षा लिनका लागि सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गर्ने काम गरिरहेको छ ।