१५ बैशाख २०८१, शनिबार

कांग्रेसका बौद्धिक नेता भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य नारायण प्रसाद भट्टराईले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन्।

२०४६ सालको पहिलो जनआन्दोलनको मैदानबाट कांग्रेसको राजनीतिमा होमिएका भट्टराईले पार्टीको १४औं महाधिवेशनमा आफू केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

कालिकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसहमतिमा चयन भएका भट्टराईले पार्टीका नेता र साथीहरूसँग छलफल गरी केन्द्रीय कार्यसमितिमा बसेर पार्टीको भावी कार्यदिशाबारे योगदान गर्न सक्छु भन्ने उद्देश्यले उम्मेदवारी दिने उनको भनाई छ। नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य भट्टराईले कांग्रेसलाई शुद्धिकरण सुदृढीकरण गर्नकालागि आफ्नो उम्मेदवारी रहने बताएका छन्।

उनले भने, ‘मैले देशभर पार्टीका साथीहरूसँग छलफल गरेको छु। पार्टीको आगामी बाटोबारे उहाँहरुको अपेक्षा बुझेको छु। कांग्रेसलाई नयाँ बाटोमा लैजान मसँग प्रष्ट भिजन छ।’ उनले थपे, ‘कार्यकर्ताको भावना र जनताको चाहनाअनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु भनेर नै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ।’ कांग्रेसभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन्।

को हुन् नारायण भट्टराई ?

– विद्यालयमा पढ्दै गर्दा २०४६ सालको जनआन्दोलनमा सहभागी
– २०४८ ने वि संघको विद्यालय इकाइको सचिव
– २०५० नेपाल विद्यार्थी संघको जिल्ला समिति सदस्य,
– २०५१ नेपाल विद्यार्थी संघको जिल्ला समिति सचिव
– २०५२ नेपाल विद्यार्थी संघको जिल्ला समितिको कार्यवाहक अध्यक्ष
– २०५३ नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधि
– २०५८ मा नेपाल प्रेस युनियन कालिकोटको संस्थापक अध्यक्ष
– नेपाल ट्रेड युनियन काँग्रेस कालिकोटको संस्थापक अध्यक्ष
– २०५९ मा नेपाल तरुण दलको केन्द्रीय सदस्य
– नेपाली काँग्रेसद्वारा गठित जनआन्दोलन २०५९÷६३ को तत्कालीन कर्णाली अंचल कमिटीको सचिव
– २०६१ मा तरुण दलको जनकपुरमा भएको तेस्रो महाधिवेशन बाट पुनः केन्द्रीय सदस्य निर्वाचित र २०६८ सम्म निरन्तर
– २०६९ मा पुनः केन्द्रीय सदस्य
– नेपाली काँग्रेसको १२, १३ र १४ औ महाधिवेशनको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य
– पार्टीको केन्द्रीय प्रतिनिधिका रुपमा धेरै जिल्लामा खटिएको