१९ बैशाख २०८१, बुधबार

नेताहरु परिवर्तनपछि राष्ट्रघात गर्न थालेँः प्रवक्ता विश्वकर्मा


सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि राष्ट्रघात गरेको आरोप लगाएका छन् । प्रवक्ता विश्वकर्माले जन पत्रकार संगठन कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हरेक परिवर्तनपछि नेताहरुले राष्ट्रघात गरेको आरोप लगाएका हुन् ।
२००७ साल २०४६ साल र २०६२÷०७३ जनयुद्ध र जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरुले राष्ट्रघात गर्ने गरेको नेता विश्वकर्माले बताए । ‘जनताले ठुलो बलिदानबाट राज्यको परिवर्तन गर्ने गरेका छन् । त्यो सुशासन र विकासका लागि हो ।’ उनले भने, ‘तर, नेताहरुले कहिले गण्डक, कोशी र कर्णाली बेचेका छन् । अहिले एमसीसीका नाममा राष्ट्रघात गर्न खोजिरहेका छन् ।’
नेपालमा २०४६ सालदेखि नेपाली जनताको दुख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै उनले स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा गरे ।
स्थानीय चुनाव संसदीय चुनाव नभएर जनताको लागि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने जनमतसंग्रहको चुनाव गर्न आग्रह गरे । ‘अब व्यवस्था परिवर्तनका लागि जनमत संग्रह चुनाव हुन जरुरी रहेको छ । यहाँ कहाँको स्थानीय तहको निर्वाचनको कुरा गरिरहेका छन् ।’ उनले भने,‘जनता के चाहेका छन भन्ने कुरा उनीहरु बुझेका छैनन् ।’