२१ बैशाख २०८१, शुक्रबार

हमाल मृत्यु प्रकरणः असई बिरुद्ध जाहेरी


सुर्खेत । सुर्खेतमा शंकास्पद मृत्यु भएका कालिकोटका युवक कृष्ण हमाल ‘मिनी’का बाबु हिराचन्द्र हमालले प्रहरीका असई बिरुद्ध जाहेरी दिएका छन् । कृष्णको प्रहरीको कुटाईबाट मृत्यु भएको भन्दै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका हुन् ।
कालिकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असई धामीविरुद्ध परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले असईविरुद्ध किटानी जाहेरी परेको बताए ।
शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका हमालको प्रहरीले नियन्त्रणमा राखेको भोलिपल्ट मृत्यु भएको थियो । उनी भे १ क ९२२ नम्बरको ट्रकमा आएका थिए । उक्त ट्रकसहित चालक र सहचालकलाई पनि प्रहरीले सुब्बाकुनामै नियन्त्रण लिएर राखेको थियो ।
शुक्रबार साँझ प्रहरीको कुटाइ खाएका हमालको शनिबार विहान मृत्यु भएको थियो । हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका थिए ।
आइतबार दिउँसो सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चार बुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन स्थगित गरेका छन् । शनिबार बनाइएको छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको व्यवस्था गर्ने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
सहचालक र हमाललाई प्रहरीले मादकपदार्थ सेवन गरेको भन्दै कुटपिट गरेको आफन्तको आरोप छ ।