५ जेष्ठ २०८१, शनिबार

कर्णालीका १० वटै जिल्लामा कांग्रेसको ‘घर घर जाउँ, नेपाली कांग्रेस जिताउँ’ अभियान सुरु


सुर्खेत । कर्णालीका १० वटै जिल्लामा नेपाली कांग्रेसले आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस ‘घर घर जाउँ, नेपाली कांग्रेस जिताउँ’ अभियान सुरु गरेको छ । नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरेर ‘घर घर जाउँ, नेपाली कांग्रेस जिताउँ’ अभियान सुरु गरेको हो ।
कांग्रेसले ‘घर घर जाउँ, नेपाली कांग्रेस जिताउँ’ अभियान कर्णाली प्रदेशका १० वटै जिल्लाका ८९ वटा स्थानीय तहमा नै शुरु भएको नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीले जानकारी दिए । ‘घर दैलोमा पुगेर जनतालाई कांग्रेसमा लाग्न उत्साहित गराउने र वामपन्थीहरूले गलत भ्रम फिँजाएको एमसीसीबारे जनतालाई प्रस्ट पार्ने अभियानको मुख्य उद्देश्य रहेको छ ।’ उनले भने,‘हाम्रो अभियान कर्णाली प्रदेशका सबै जिल्ला, पालिका, वडा र टोलसम्म एक महिना चल्नेछ ।’
केन्द्र, प्रदेश जिल्ला कार्यसमिति, पालिकास्तरले अभियानका लागि नेता तथा कार्यक्रतालाई अभियानमा खटाएका प्रतिनिधि एक महिनासम्म वडामै बसेर कांग्रेस जनमत बटुल्न घरदैलो कार्यक्रम गर्ने उपसभापति सहकारीले जानकारी दिए । ‘आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन मिति तय गरिएको छ । पार्टीलाई एक ढिक्का भएर लाग्न र आउँदो स्थानीय चुनावमा वडा सदस्यदेखि गाउँ र पालिकामा जितको सुनिश्चितता गर्न समेत नेतादेखि मतदातासम्म पुग्ने कांग्रेसको लक्ष्य रहेको छ ।’
मुगुमा फागुन ३० गते नै अभियान सुरु भएको त्यसका लागि केन्द्रीय सदस्यले कर्णबहादुर बुढा अभियानको शुरु गरेको र जिल्लाको ४५ वडामा ४५ जना जिल्ला कार्यसमितिका पदाधिकारी महाधिवेशन र महासमिति प्रतिनिधि खटाइएको कांग्रेस सभापति ऐनबहादुर शाहीले बताए ।
कालिकोटमा अभियान शुरु भएको अभियानको नेतृत्व केन्द्रीय सदस्य बाबुराम बस्नेतले गरेको नेपाली कांग्रेस जिल्ला उपसभापति मीनबहादुर बोगटीले जानकारी दिए । ‘अभियानका क्रममा अहिले हामी सबै तहका नेता तथा कार्यक्रता गाउँमा खटिएका छौं ।’ उनले भने,‘यसले गाउँमा एक प्रकारको उत्साह ल्याएको छ ।’
सुर्खेतका नौ वर्टै स्थानीय तहमा पनि ‘घर घर जाउँ, नेपाली कांग्रेस जिताउँ’ अभियान सञ्चालन भएको नेपाली कांग्रेसका उपसभापति बिष्णुबहादुर खड्काले जानकारी दिए ।
‘घर घर जाउँ, नेपाली कांग्रेस जिताउँ’ अभियानका लागि कर्णाली प्रदेशमा नेपाली कांग्रेस केन्द्रीय समितिले केन्द्रको कमाण्डरका रुपमा रुकुमपश्चिममा शुसिला थिङ, सल्यानमा राजिव बिक्रम शाह, डोल्पामा डा.गोपाल दहिल, जुम्लामा कृष्णकिशोर घिमिरे, मुगुमा कर्णबहादुर बुढा, हुम्लामा योगेन्द्र चौधरी, कालिकोटमा बाबुराम बस्नेत, जाजरकोटमा जीवन राना, दैलेखमा जानकी सिंह र सुर्खेतमा मानबहादुर नेपालीलाई खटाएको छ ।