२३ बैशाख २०८१, आईतवार

सेनेटरी प्याडमा आत्मनिर्भर बन्दै सिंजाली महिलाहरु


सुर्खेत । जुम्ला जिल्लाको सिंजा गाउँपालिकाका स्थानीय महिलाहरुले सेनेटरी प्याडमा आत्मनिर्भर बन्ने अठोट गरेका छन् । बहुसंख्यक महिलाहरुले महिनावारी (छुई) हुँदा सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने भएपछि उनीहरुले आफ्नै गाउँमा आफ्नै अनुकुलताका सेनेटरी प्याड निर्माण गर्न थालेका हुन् ।
हाल उनीहरु घरेलु तरिकाले सेनटरी प्याड बनाउँदै आएका छन् । बजारदेखि खरिद गरेको प्याडभन्दा गाउँमा आफैँले बनाएको प्याड प्रभावकारी भएको बताएका छन् ।
सेनेटरी प्याड बनाउन थालेपछि समस्याभन्दा सहजता भएको सिंजा गाउँपालिकाकी लक्ष्मी घर्तिले बताइन् । ‘पहिले प्याडको प्रयोग गर्ने बारे जानकारी नहुँदा महिनावारी हुँदा समस्या हुने गरेको थियो ।’ उनले भनिन्, ‘अहिले आफ्नै घरमा रहेको साधनस्रोतको प्रयोग गरेर प्याड बनाउन सिकेका छौं । प्याड किन्नु पर्दैन, बरु कहीकतैबाट माग आएको खण्डमा प्याड बनाएर बेच्न सक्ने आत्म निर्भर भएका छौं ।’
अहिले किशोरीदेखि गृहणी महिलाहरुले आफैँले सेनेटरी प्याड बनाएर प्रयोग गर्ने गरेको स्थानीय जमुना चौलागाइले बताइन् । ‘प्याड बनाउने कपडा राम्रो र संक्रमण नहुने खालको हुनुपर्छ ।’ उनले भनिन्,‘प्रयोग गरिसकेको प्याड तातोपानीमा साबुन पानीले धोएर फेरी धोएर प्रयोग गर्न मिल्ने गरि बनाउने गर्छौं ।’
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा साझेदारी सहयोग केन्द्र (पेस नेपाल) को साझेदारीमा सञ्चालित खानेपानी सरसरफाई स्वच्छता उत्थानशिल परियोजना अन्र्तगत दुई दिने प्याड बनाउने तालिम लिएपछि सिंजाका महिला प्याड किन्नकै लागि मेडिकल र स्वास्थ्य संस्थामा धाउनु नपरेको बताएका छन् । पेस नेपालका परियोजना संयोजक हेमराज भट्टले भने ‘अहिले गाउँमा महिलाहरुले आफै प्याड बनाउन सिकेपछि निकै सहज भएको अनुभुति गर्न थालेका छन् ।’
सिंजा गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर रोकाया प्याडको दिगोपनाको लागि यहाँका महिला आत्मनिर्भरतर्फ उन्मुख भएको बताए । ‘पहिले यहाँका महिलाहरु प्याड प्रयोग गर्न लाज मान्थे । महिनावारीका प्रसंगमा छलफल गर्न पनि मान्दैनथे ।’ उनले भने,‘तर अहिले महिनावारी भएको समयमा प्रयोग गर्ने प्याड बनाउन सिकेका छन् । खुलेर महिनावारीको बारेमा छलफल गर्छन् । महिनावारीको बारेमा देखिएको सामाजिक विभेद अन्त्यका बिषयमा समेत आवाज उठाउन सक्ने भएका छन् ।