कर्णालीका १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर


सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा भएका विभिन्न अनियमितमा संलग्न भएकालाई छानविन गर्दै विशेष अदालतमा मुद्दा दर्ता गर्न थालेको छ।
आइतबार मात्र हुम्ला र मुगुका १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले मंगलबार कालिकोटका विभिन्न कार्यालयमा भएको अनियमिततामा संलग्नविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
मंगलबार आयोगले स्थानीय तहका नायबसुब्बादेखि, आयोजना प्रमुख र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध आरोप पत्र दर्ता गरेको हो।
कालिकोटको पलाता गाउँपालिकाका नायव सुब्बा राजबहादुर बम, तत्कालिन नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा) कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनाल, तत्कालिन जिल्ला कृषि विकास कार्यालय, कालिकोटका तत्कालिन प्रास रत्न प्रसाद पाण्डे र अल्लो भाँगो प्रशोधन केन्द्र, मान्म–८ ताडी, कालिकोटको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध आरोप पत्र दायर गरेको हो।
पलाता गाउँपालिकाका नायव सुब्बा बमले साविक जिल्ला विकास समतिको कार्यालयमा खरिदार हुँदा जिविसको कार्यालयका सिलाई मेसिन खरिदमा नक्कली बिल बनाएर दुई लाख ३४ हजार ११ रुपैयाँ २५ पैसा भ्रष्टाचार गरेको भन्दै अदालतमा आरोप–पत्र दायर गरिएको हो।
साविकको जिल्ला विकास समितिको कार्यालय, आर्थिक वर्ष २०७०/०७१ मा सञ्चालन भएका उपेक्षित र दलित वर्ग उत्थान विकास समितिअन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामीना भएको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ दफा ८ को उपदफा १ को खण्ड (ङ) बमोजिम कसूर दुई लाख ३४ हजार ११ रुपैयाँ २५ पैसा विगो दाबी र सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम नै कैद सजाय र विगोबमोजिम जरिवाना हुन एंव सोही दफा बमोजिम नक्कली बिलको भुक्तानी लिएको विगोसमेत बमबाट असुल्न माग दाबी गरेको छ।
जिल्ला विकास समितिको कार्यालयबाट आर्थिक बर्ष २०७०/०७१ मा तत्कालिन नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा) कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमलप्रसाद खनालले कार्यक्रमको प्रचार प्रसारका लागि होडिङ बोर्ड निर्माण गरेको भनि नक्कली बिल भर्पाई बनाई ३ लाख २६ हजार ४९७ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ठहर छ।
तत्कालिन जिल्ला कृषि बिकास कार्यालय, कालिकोटका तत्कालिन प्रास रत्न प्रसाद पाण्डेले आर्थिक वर्ष २०७०/०७१ मा सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा झुठा बिल पेस गरेको, खरिद नै नगरेको सामानको खरिद र ढुवानी भुक्तानी लिएको भन्दै ३ लाख ८८ हजार ७५० रुपैयाँ भ्रष्टाचार गरेको जनाएको छ।
आर्थिक बर्ष २०७०/०७१मा अल्लो भाँगो प्रशोधन केन्द्र, मान्म–८ ताडी, कालिकोटको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले भरटा बिल बनाई स्रेस्तामा समावेश गरी भुक्तानी लिई २ लाख ५१ हजार ५२९ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष नन्द प्रसाद पाण्डे, सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष विनिता राना (पाण्डे) विरुद्ध आरोप पत्र दायर गरेको हो।
कर्णालीपाटी । २५ श्रावण २०७९, बुधबार ११:५०