२९ चैत्र २०८१, शनिबार

४ वर्षदेखि विद्यार्थीले पाएनन् छात्रबृत्ति र दिवा खाजा रकम


कालीकोटः जिल्लाको तिलागुफा नगरपालिका–५ मा रहेको कालिका मावि खल्लाका विद्यार्थीले ४ वर्षदेखि छात्रबृत्ति पाउन सकेका छैनन् ।
विद्यार्थीको नाममा आएको छात्रबृत्तिबाट विद्यालयले निजी स्रोतका शिक्षकलाई तलव खुवाउन थालेपछि विद्यार्थी छात्रबृत्ति पाउनबाट बन्चित हुनुपरेको छ । ४ वर्ष अघि नियमित विद्यार्थीको हातमा जाने छात्रबृत्ति ४ वर्षदेखि त्यहाँका विद्यार्थीले नपाएको गुनासो गरेका छन् । छात्रबृत्ति मात्र होइन कालीका मावि खल्लाका विद्यार्थीका नाममा आएको दिवा खाजा रकम समेत पाउन सकेको छनैन् ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी घोषणा गरिएको दिवा खाजा कार्यक्रम अन्तरगतको रकम समेत विद्यार्थीले नपाएको गुनासो गरेका छन् । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले सहयात्रा (दोस्रो) परियोजनाको सहयोगमा संचालन गरेको सार्वजनिक सुनुवाईमा विद्याथीले छात्रबृत्ति र दिवा खाजा रकम नपाएको गुनासो गरेका हुन् ।
सरकारले कर्णालीमा विद्यार्थीलाई विद्यालयमा नियमित बनाउनका लागि दिवा खाजा कार्यक्रम संचालन गरेको थियो । सुरुका केही वर्ष दिवा खाजा कार्यक्रम प्रभावकारी भएपनि पछिल्लो समय शिक्षक पाल्नका लागि लागु भइरहेको पाइएको छ । विद्यार्थीका नाममा दिनुपर्ने उक्त रकमबाट कालीका मावि खल्लाका ६ जना शिक्षकलाई विद्यार्थीको छात्रबृत्ति र दिवा खाजाबाट पाल्नु परेको छ ।
विद्यार्थीका नाममा आउने वार्षिक १ लाख देखि करिव २ लाख सम्मको छात्रबृत्ति र ३ लाख दिवा खाजा रकम पाउन छोडेको ४ वर्ष पुगिसकेको विद्यालयका प्रधानाध्यापक देविभक्त न्यौपानेले बताए । उनले विद्यार्थीको नाममा आएको रकमबाट नीजि स्रोतबाट राखिएका शिक्षकलाई तलव खुवाउनुपर्ने भएकाले अभिभावकहरुको सल्लाहमा आफुहरुले विद्यार्थीको नाममा आएको रकमबाट तलव खुवाएको स्विकार गरे ।
उनका अनुसार विद्यार्थीको छात्रबृत्ति र दिवा खाजाबाट माविका ३ शिक्षक र प्राविका ३ जना शिक्षकलाई तलव खुवाएको प्रधानाध्यापक न्यौपानेले बताए । अहिले नगरपालिकाले नीजि शिक्षकलाई नगरबाटै तलव दिने भएकाले यस वर्षबाट विद्यार्थीको रकम विद्यार्थीलाई नै फिर्ता गर्ने प्रतिवद्धता गरेका छन् । एक जना विद्यार्थीले प्रत्येक दिन २० रुपैयाका दरले दिवा खाजा वाफत पाउने छन् ।