२१ बैशाख २०८१, शुक्रबार

एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाहको प्यानलै विजयी


सुर्खेत । नेकपा एमालेको प्रथम कर्णाली प्रदेशकाे अध्यक्षमा सल्यानका गुलावजंग शाह पदाधिकारी प्यानलसहित निर्वाचित भएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३६९ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिपस्पर्धी मीनबहादुर शाहीले २०७ मत पाए । अध्यक्षका अर्का प्रत्यासी प्रकाश रोकायाले ४ मतमा चित्त बुझाए ।

यस्तै, उपाध्यक्षमा शाह प्यानलकै जुम्लाका टेकराज पछाई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी शाही प्यानलका लालबहादुर महताराले १७६ र मुगुका दानसिं परियारले ५९ मत पाएका छन् ।  एमाले कर्णालीकाे सचिवमा शाह प्यानलका ध्रुवकुमार शाहीले ४०६ मत ल्याएर विजयी हुँदा शाही प्यानलका रुद्रबहादुर शाहीले १६९ मत प्राप्त गरे । उपसचिवमा शाह प्यानलका रविन्द्रराज शर्माले २९९ र रमेशकुमार शाहीले २६६ मत ल्याएर विजयी हुँदा शाही प्यानलका पद्मा खड्काले १५२ र मेनका पछाइले  ९६ मत प्राप्त गरिन् ।