६ जेष्ठ २०८१, आईतवार

भूकम्पमा परी जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु


सुर्खेत । शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माका अनुसार जाजरकोटमा मात्र ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण आएको ठाउँमा प्रहरी परिचालन गरी पुष्टि हुने क्रम जारी छ । उनले भने, ‘अहिलेसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।’

यस्तै भूकम्पबाट रुकुमपश्चिममा पनि अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । रुकुम पश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालले  दुबै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्। राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने डीआइजी ढकालले जानकारी दिए।