१९ बैशाख २०८१, बुधबार

भूकम्पपीडितको आवास निर्माणका लागि तत्काल रकम दिन कांग्रेसको आग्रह


काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई तत्काल आवास निर्माणका लागि रकम उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । बढ्दो चिसोमा भूकम्पप्रभावितहरु कठ्यांग्रिएर बस्नु परेको कांग्रेसले दिने भनिएको रकम तत्काल उपलब्ध गराउन आग्रह गरेको हो ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले दिने भनिएको ५० हजार रुपैयाँ एकमुष्ट दिन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै पटकमा दिन सरकारलाई आग्रह गरेको छ । सरकारले बनाएको कार्यविधिमा २५ हजार सुरुमा र आवास निर्माण सुरु भएपछि थप २५ हजार रुपैयाँ दिने उल्लेख छ । तर, भूकम्पपीडितहरु समस्यामा रहेको भन्दै रकम एकैपटक दिनुपर्ने कांग्रेसले माग गरेको हो ।

कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माकाअनुसार पार्टीका मन्त्रीहरुबाट अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएको छ । बैठकले अस्थायी आवास निर्माणका लागि दिने भनिएको रकम पुगे नपुगेकोबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री प्रकाशशरण महतसँग जानकारी लिएको उनले सुनाए।

उनले भने , ‘नेपाली कांग्रेस हामी आफ्नै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको पक्षमा छाैं । र, यो संविधानको पूर्ण कार्यान्वयन नभईकन यसका बारेमा टिकाटिप्पणी गर्नु उपयुक्त होइन भन्ने निष्कर्ष छ । र, आज हामी त्यही निष्कर्षमा पुगेका छौं ।’ संविधानको पक्षमा नेपाली कांग्रेस प्रतिवद्ध भएकाले यसलाई कार्यान्वयनमा क्रियाशील भएर लाग्छ भन्ने आजको बैठकले निष्कर्ष निकालेको उनले सुनाए ।

बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेण्डाबारे पनि छलफल भएको थियो ।