१५ बैशाख २०८१, शनिबार

उपभोक्ता गठनको बिबादले वडा कार्यालयमा ताला


कालिकोटः जिल्लाको रास्कोट नगरपालिका वडा नं. ५ को वडा कार्यालयमा स्थानिय युवाले ताला लगाएका छन् । स्थानीय आरसिपि बजार खानेपानी आयोजनाको उपभोक्ता समिति गठनका बिषयमा बिबाद हुँदा स्थानिय युवाहरुले वडा कार्यालयमा ताला लगाएका हुन् ।

स्थानीय आरसिपि बजार खानेपानी आयोजनाको उपभोक्ता समिति गठन गर्दा वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुले गोप्य रुपमा आफुखुसी समिति गठन गरेको भन्दै स्थानीयले बिबाद गरेका छन् । जनप्रतिनिधिहरुले आफ्ना आफन्तहरुलाई समितिमा राखेर स्थानिय अन्य उपभोक्ताहरुलाई व्यवास्था गरी खानेपानी आयोजनाको सुरुवात गर्न लागेकाले आफुहरुले असहमति राखेको स्थानिय ध्वजबहादुर शाहीले बताए । उनले भने, हामीले गाँउका सबैलाई भेला बोलाएर सर्बसहमत उपभोक्ता समिति गठन गरौँ भनेको हौँ । वडा अध्यक्षले त्यो कुरा मान्नु भएन् । वडा अध्यक्षको भाई, वडा सदस्यले भाई बुहारी, कार्यपालिका सदस्य मन तिरुवाले आफ्नो मामाको छोरा राखेर गोप्य रुपमा उपभोक्ता बनाउनुभयो । त्यसलाई हामीले नमानेका हौँ । हाम्रो माग भनेको पुन उपभोक्ता समिति गठन गर्नु पर्छ भन्ने हो ।

कर्णाली प्रदेश सरकारद्धारा उक्त खानेपानी आयोजनाको लागि ५० लाख बजेट बिनियोजनन भएको छ । स्थानीय टक्से भन्ने ठाउबाट आरसिपि बजार, तिरुवाबाडा र रानागाउसम्म खानेपानी बितरणको लागि उपभोक्ता समिति गठन भएको हो । स्थानीय जीवन बमका अनुसार वडा अध्यक्षले हिजो आफुखुसी मनपरि समिति गठन गरेको र उक्त समिति गठन भएको स्थानीय कसैलाई जानकारी नगराएको तथा समितिमा बस्ने मान्छे ३ जना बाहेक अरु कसैले हस्ताक्षर नगरेको पाइएको छ । स्थानीय सरकार संचालन ऐेन अनुसार उपभोक्त समिति गठन हुनका लागि स्थानीयको सहमतिबाट उपभोक्ता समिति गठन गर्नुपर्ने र उपोभोक्ता समितिमा बस्ने ब्यक्ति पुर्ण रुपमा सहमत हुनुपर्ने प्राबधान छ । तर रास्कोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नर्जन शाहीले आफुखुसी मनपरि समिति गठन गरेर स्थानीय सरकार संचालन ऐन मिचेको स्थानीयको आरोप छ । उपभोक्ता समिति पुन गठन नभएसम्म वडामा लगाईएको ताला नखोल्ने उनीहरुको भनाई छ ।

यता वडा अध्यक्ष नरजंग शाहीले आफुहरुले प्रक्रिया अनुसार नै सामाजिक दुरी कायम गरी ५१ प्रतिशत उपभोक्ताहरुको भेलाबाट उपभोक्ता समिति गठन गरेको बताए । उनले भने, यहाँका स्थानिय उपभोक्ता, वडाका पाँचै जना जनप्रतिनिधि सबैको सहभागीतामा उपभोक्ता समिति प्रक्रिया अनुसार नै गठन भएको छ । वडा नं. ५ का सबै नागरिकहरु हाम्रा आफन्तहरु नै हुन् । केही अराजक मान्छेहरुले वडा कार्यालयमा ताला लगाएको बुझेको छु । आईतबार ताला खोल्छौँ ।