२० बैशाख २०८१, बिहीबार

९ हजार भन्दा बढीले लगाए कोरोना खोप


कालीकोटः जिल्लामा मंगलबार सम्म ९ हजार ९५ जनाले कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका छन् । यद्यपि, लक्ष्यअनुसार भने खोप लगाउन सकिएको छैन् । जम्मा १२ हजार १ सय ५५ जनालाई ‘कोभिशिल्ड’ खोप लगाउने लक्ष्य थियो । तर, हालसम्म ९ हजार ९५ जनाले मात्र कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालीकोट जानकारी दिएको छ ।
गएको माघ १४ गतेदेखि कालीकोट जिल्लामा खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणको खोप अग्रपंतिमा रहेर सेवा गर्ने नागरिकलाई लगाइएको थियो । दोस्रो चरणको खोप फागुन २ गतेदेखि १० गतेसम्म र तेस्रो चरणको खोप फागुन २३ गते देखि चैत २ गतेसम्म समुदाय स्तरमा लगाइएको निमित्त स्वास्थ्य व्यवस्थापक एवं स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए ।
उनका अनुसार कालीकोटमा जति लगाउनुपर्ने हो त्यति लगाउन नसकिएपनि ६७ प्रतिशत खोप लगाइएको छ । उनले भने, ‘६५ वर्ष भन्दा बढी उमेर समुहका लक्षित वर्गलाई खोप केन्द्रित गरिएको छ ।’ कालीकोटमा ६५ वर्ष भन्दा मार्थिका ६ हजार ३ सय नागरिकले खोप लगाएका छन् ।