४ जेष्ठ २०८१, शुक्रबार

कालीकोटः को सदरमुकाम मान्ममा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ शुरु गर्न लागेकोले देशैभर जनगणना कार्यालयहरु स्थापना गर्ने क्रम शुरु भएसंगै कालीकोटमा पनि जनगणना कार्यालयको स्थापना भएको हो ।
यसअघिबाटै जनगणनाका आन्तरिक कार्यहरु भइरहेको भए पनि जिल्लामा कार्यालय स्थापना गरी विहिवारबाट औपचारिक रुपमा कार्य शुरु गरिएको जनगणना अधिकारी कमलराज गिरीले बताए । जिल्ला कार्यालय स्थापना गरिएसँगै गणकहरु नियुक्त गर्ने प्रक्रिया पनि शुरु गरिने उनले बताए । गणक तथा सुपरिवेक्षक पदमा जिल्लामा नै आवेदन दिन सकिने गिरीले बताए । उनकाअनुसार कर्मचारी नियुक्तीमा स्थानीय र महिलालाई विषेश प्राथमिकता दिइने छ ।
जिल्ला जनगणनाको कार्यालयको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले नेपालमा १२ औं पटक राष्ट्रिय जनगणना गर्न थालिएको बताए । उनले गणकहरु सवैको घरदैलोमा गएर तथ्यांक संकलन गर्ने छन् । २०७८ सालको जनगणनाले देशकै मुहार अन्तराष्ट्रिय स्तरमा देखाउनका लागि जनगणना गर्न थालिएको हो । कार्यालयको अवधि ४ महिनाको रहेको छ । ४ महिना भित्र कालीकोटमा जनगणना गरि सक्ने छन् । जनगर्णना जेठ २५ गतेबाट असार ८ गतेसम्म हुने प्रजिअ आचार्यले बताए ।
उनले भने, ‘जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने छ । नेपालमा हरेक दश÷दश वर्षमा जनगणना गरिँदै आएको छ ।’ अघिल्ला वर्षमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति भर्ना गर्न थालिएको हो । शिक्षकलाई खटाउँदा पढाइमा समेत समस्या पार्ने भएको भन्दै सरकारले करारमा जनशक्ति लिन थालेको बताइएको छ । ‘बेरोजगारलाई रोजगारी प्रदान गर्न सकियोस् भनेर करारमा लिन थालिएको हो,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने, यसले धेरै शिक्षित भए पनि बेरोजगार भएकालाई रोजगार दिन सकिने उनको भनाइ छ ।
जनगणनाबाट संकलन गरिने तथ्यांकले देशको नीति निर्माण गरी देशको विकास गर्न समेत महत्वपूर्ण सहयोग पुग्ने छ । भोलिको हाम्रो समाजको विकास, समृद्धि, परिवर्तनको मापन गर्न पनि यसले भूमिका खेल्ने छ । त्यसैगरेर जनसंख्याको आधार मानेर नै निर्वाचन क्षेत्र निर्धारण गरिने छ ।
कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नाम थर, जाति र जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइँ–सराई आदि विवरण संकलन गर्ने गरिन्छ । यसरी तोकिएका अधिकारीबाट प्रत्येक घरदैलोमा गई संकलन गरिएका सम्पूर्ण तथ्यांकलाई प्रशोधन गरी प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ ।