२ जेष्ठ २०८१, बुधबार

विरामीको लाप्रवाहीले क्षयरोग नियन्त्रणमा चुनौती


कालीकोटः जिल्लामा रहेका क्षयरोगका विरामीहरुले औषधि उपचारमा लापर्वाही गर्दा क्षयरोग नियन्त्रणमा चुनौती थपिएको एक कार्यक्रमका सहभागिले बताएका छन् । कालीकोटका ग्रामिण वस्तिहरुमा जनचेतनाको अभावका कारण क्षयरोगीहरुले समयमा उपचार नगराउँदा नियन्त्रण गर्न चुनौति थपिएको उनीहरुको भनाई छ ।
क्षयरोग रोकथाममा वर्षेनी लाखौं खर्च गरेपनि विरामीहरुले उपचारमा लापरवाही गर्दा पून बल्झिने समस्या कायमै रहेको सहभागिको भनाई छ । गरीविका कारण समयमा विरामीले उपचार नपाउँदा क्षयरोगका विरामी बढ्दै जाने दर बढेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा आयोजित संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा उपस्थित स्वास्थ्यकर्मीले ग्रामिण भेगमा विरामीको पहिचानमा समस्या भएको बताएका छन् । ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ स्वास्थ्य सेवा कार्यालय कालीकोटले पहिलेको तुलनामा कालीकोटमा क्षरोगका विरामी घटेको भएपनि ग्रामिण भेगका क्षरोगका विरामीको पहिचानमा समस्या आएको बताएका हुन् ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य व्यवस्थापक एवं सूचना अधिकारी कटकबहादुर महतले पहिलेको तुलनामा कालीकोटमा यसवर्ष क्षरोगका विरामीको दर घटेको बताए । उनले भने, ‘आर्थिक वर्ष २०७५÷७६ मा १३५ जना क्षयरोगका विरामीहरु थिए, भने आर्थिक वर्ष २०७६÷७७ मा घटेर ७३ जनामात्र रहेका छन् ।’ पहिलेको तुलानामा क्षयरोगका विरामीहरुको संख्यामा कमि आएको भएपनि धेरै जसो विरामी पहिचान नहुदा पनि समस्या आएको महतको भनाई थियो । उनले भने, ‘विरामीको लापर्वाहीले पनि पहिचान हुन सकेको छैन ।’
कालीकोटमा क्षरोगकाका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा भरपर्दो मेसिन नहुदा पनि विरामीको पहिचानमा समस्या आएको डा. विज्ञान प्रजापतिले बताए । उनले आउदो बैशाख सम्ममा जिन इस्पोटस मेसिन ल्याएर जिल्लाबाटै क्षरोगका विरामीको पहिचान हुने बताए ।