२१ बैशाख २०८१, शुक्रबार

सर्वोच्चले ऐतिहासिक फैसला गरेको छ ; माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट भएको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण परिघटना भएको टिप्पणी गरेका छन् ।

संसद् पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि जारी गरेको परमादेशलाई स्वागत गर्दै नेपाली जनताको जीत भएको बताएका छन् ।

आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको उनको भनाइ छ । एक भिडियो जारी गर्दै उनले प्रतिगमनविरुद्धको लडाईँमा आफू सफल भएको प्रतिक्रिया दिएका छन् । उनले धारा ७६(५) लाई पनि सर्वोच्चले स्पष्ट व्याख्या गरेको भन्दै उत्साह व्यक्त गरेका छन् ।

उनले भने, ‘संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रियहितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु । मेरो तर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु ।’

उनले अबको ध्यान कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनतिरै लाग्ने बताएका छन् । ‘यो संघर्षमा सबैको साथ रह्यो । हामीले शेरबहादुरजीलाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सारेका थियौं । आज सर्वोच्चले पनि त्यही निर्णय गरेको छ । अब मेरो सम्पूर्ण ध्यान देउवाजीलाई प्रधानमन्त्री बनाउने र देशको विकास गर्नेतिरै हुनेछ ।’

उनले गठबन्नलाई चुनावसम्म सँगै लैजाने प्रयास हुने बताएका छन् । कुनै पार्टी फुटाउन आफ्नो मनसाय नभएको दावी गर्दै उनले तर देश विकासको लागि एकता आवश्यक रहेकाले गठबन्धनलाई अगामी निर्वाचनसम्म सँगै लैजाने बताए ।