१५ बैशाख २०८१, शनिबार

सेनेटरी प्याड खरिदमा लार्खौ अनियमितता


कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिकाले सेनेटरी प्याड खरिदमा लाखौ अनियमितता गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकाका भित्रका विद्यालयहरुलाई वितरण गर्नका लागि खाडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा लाखौ रकम अनियमितता गरेको पाइएको हो ।
होलसेल खरिदमा सेनेटरी प्याडको बजार मुल्य ३० देखि ३५ भएपनि नगरपालिकाले खरिद गरेको प्याडको ४५ रुपैया ९५ पैसा मुल्य परेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले नेपालगन्जमा रहेको कलमा सर्जिकल र सुर्खेतको निमित सर्जिकलबाट सेनेटरी प्याड खरिद गरेको हो ।
खाडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले प्याड खरिदमै घोटाला गरेको छ । नगरपालिकाले १० लाखको लागतमा १५ हजार प्याड खरिद गरेको स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवालले बताए । उनले दिएको जानकारी अनुसार, १५ हजार प्याडको खरिद मुल्य हेर्ने हो भने ६ लाख ८९ हजार २ सय ५० हुन्छ । तर नगरपालिकाबाट १० लाख भुक्तानी भएको छ ।
नगरपालिकाले जुन प्याड खरिद गरेको छ त्यसको बजार मुल्य ३५ राख्ने हो भने, ५ लाख २५ हजार हुन आउछ । नगरपालिकाले १० लाखमा खरिद गरेको प्याडमा ३ लाख १० हजार ७ सय ५० रुपैया अनियमितता भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले २०७८ माघ २ गते खरिद गरेको प्याड आधारभुत र माध्यमिक विद्यालयमा वितरण गरिएको थियो । वितरण गरिएको प्याड पनि महिनावारी उमेर समुहका छात्राले पाउन सकेका छैनन ।
अहिले विद्यालयले प्याड विद्यालयको गोदाममा थन्काएर राखेका छन् । केही प्याड त मुसाको बासस्थान समेत भएको छ । नगरपालिकाले राखेका विद्यालय नर्सहरु नियमित विद्यालयमा नजाँदा छात्राले प्याड पाउन नसकेका हुन् । कोटेसन माग गरेर प्याड खरिद गरिएको सेजुवाल बताउछन् । उनले आफुहरुले १५ हजार प्याड १० लाखमा खरिद गरी विद्यालयहरुमा वितरण गरेको दावि समेत गरे ।