७ फाल्गुन २०८१, बुधबार

कँडेलको मुख्यमन्त्री बन्ने आंकाक्षा ब्रेक, शर्मा मुख्यमन्त्री बन्दै


सुर्खेत । एमालेका नेता यामलाल कँडेलको मुख्यमन्त्री बन्ने आंकाक्षामा ब्रेक लागेको छ । बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो ।
कर्णाली प्रदेशको पहिलो प्रदेशसभाको कार्यकालमा नै मुख्यमन्त्री बन्ने आंकाक्षा राखेका कँडेललाई यसपटक गठबन्धन दलहरुले पनि माओवादी केन्द्रको भागमा मुख्यमन्त्री दिएपछि ब्रेक लागेको छ ।
कर्णाली प्रदेश सरकारको पहिलोक कार्यकालमा एमालेका बहुमत २० सांसद हुँदा पनि कँडेल मुख्यमन्त्री बन्ने आंकाक्षा राखेका थिए । त्यो बेला पनि माओवादी केन्द्रको भागमा नै मुख्यमन्त्री परेपछि कँडेलले मुख्यमन्त्री बन्ने दौडमा ब्रेक लागेको थियो ।
विगतमा नेकपा(एमाले) र माओवादी केन्द्र पार्टी एकीकरण भएर नेकपा बनेको बेला पनि मुख्यमन्त्रीका लागि कँडेलले लामो प्रयास गरेका थिए । नेकपा हुँदा नै मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रयास गरेका थिए । पुनः नेकपा विभाजन भएर एमाले र माओवादी पार्टी बनेपछि कँडेलले अविश्वासको प्रस्ताव पेश गरेका थिए । अविश्वासको प्रस्ताव ल्याएको एमालेका चार जना सांसदले फ्लोरक्रस गरेपछि पूर्व मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए ।
कांग्रेस पार्टीको सहयोगमा विश्वासको मत लिएका पूर्व मुख्यमन्त्री शाहीले पूर्वसहमति अनुसार नेपाली कांग्रेस कांग्रेसका जीवनबहादुर मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री आंकाक्षा राख्दै २०७९ सालको निर्वाचनमा प्रदेशसभामा निर्वाचन लडेका कँडेललाई केन्द्रमा बनेको सहमतिले पुनः मुख्यमन्त्री बन्ने दौडमा ब्रेक लागेको छ ।
शर्मा मुख्यमन्त्री बन्दै
कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री बन्न लागेका हुन् । कर्णालीमा २७ पुससम्म सरकार गठनको समयसीमा तोकिएको छ । कर्णाली प्रदेश सभा ४० सदस्यीय रहेको छ । प्रदेश सरकार बनाउनका लागि २१ जनाको भए बहुमत हुन्छ । बहुमतका लागि साझेदार दलहरुको २४ सिट पुगेको छ ।
सभामुख र उपसभामुखको निर्वाचनको मिति आज तोकिदै
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।