२० बैशाख २०८१, बिहीबार

खाडाचक्र नगरपालिकामा छैनन् कर्मचारी


कालीकोटः जिल्लास्थित खाडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाई कामको शिलशिलामा जिल्ला बाहिर छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत जिल्ला बाहिर हुँदा उनले योजना शाखाका प्रमुख प्रवलजंग शाहीलाईलाई निमित्तको जिम्मेवारी दिएर गएका थिए ।
निमित्तको जिम्मेवारी पाएका प्रवंलजंग शाही पनि अहिले कामले जिल्ला बाहिर गएपछि खाडाचक्र नगरपालिकामा निमित्तको जिम्मेवारी लेखा प्रमुख धीरबहादुर शाहीले समालेका छन् । महत्वपूर्ण सिफारिसका लागि धीरबहादुर शाहीले काम गरिरहेका भएपनि भुत्तानीका लागि आउने नागरिकलाई हैरानी भएको छ । प्रमुख प्रशासकीय अधिकृत मात्र होइनन् खाडाचक्र नगरपालिकाका अधिकाँश कर्मचारी जिल्ला बाहिर रहेको पाइएको छ ।
कामले आएका सेवाग्राहीले फर्किनु सिवाय अरु विकल्प नभएको विनोद चौलागाईले बताए । नगरपालिकाका अधिकाँश शाखामा ताला लागेको छ । खुल्ला भएका शाखामा समेत कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाभित्र रहेका सूचना प्रविधि शाखा, योजना शाखा, पूवाधार विकास शाखा, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष खाली रहेका छन् ।
सिंहदरबारको अधिकार गाउँ गाउँमा आयो भन्थे तर नगरको कार्यशैली हेर्दा त्यसो हुन नसकेको नागरिकको भनाई छ । सबै भन्दा बढी कर्मचारी र सुविधा सम्पन्न नगरपालिकाको रुपमा कालीकोट जिल्लाको सदरमुकाम रहेको खाडाँचक्र नगरपालिकामा समेत नियमित कर्मचारीको व्यवस्थापन र जनप्रतिनिधिको गम्भीरता नहुँदा आफुहरुले स्थानीय सरकारको अनुभूति पाउन नसकेको सर्वसाधारणले गुनासो पोख्न थालेका छन् ।