साधारणसभाका लागि निम्ता दिदै महासंघ
कालीकोटः नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले यहि चैत्र १८÷१९ गते साधारण सभा कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा गर्ने निश्चित भएपछि अहिले अतिथिहरुलाई निम्ता दिन थालेको छ ।
महासंघको प्रदेश कार्यसमितिको आयोजना तथा कालीकोट शाखाको आथित्यतामा चैत्र १८ र १९ गते साधारण सभा कालीकोटको नरहरिनाथ गाउँपालिकामा हुने भएपछि नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर विष्ट नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देविराम देवकोटा र महासचिव खगेन्द्रप्रसाद भट्टराईको टोली निम्ता दिन संघिय राजधानी काठमाण्डौंमा व्यस्त रहेको छ ।
साधारण सभाका लागि सचिवालय सहित विभिन्न समिति र उपसमितिहरू निर्माण गरी महासंघका पदाधिकारी सहित गाउँपालिका अध्यक्ष काठमाण्डौं गएका हुन् । साधारण सभाको उद्घाटनका लागि निम्ता दिन महासंघको टोली काठमाण्र्डौमा रहेको छ । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर विष्ट नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देविराम देवकोटा र महासचिव खगेन्द्र प्रसाद भट्टराई बिहिवार राष्ट्रपति रामचन्द्र पौडेलसंग भेटघाट गरी साधारणसभाका लागि कालीकोट आउन निम्ता दिएका छन् ।
कालीकोटको पहिचान भाषा संस्कृतिको जर्गेना, पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवद्धनका लागि इतिहासमै पहिलो पटक महासंघको साधारण सभा कालीकोटमा हुर्दैछ । २०४२ सालदेखि निमार्ण कार्य सुरु गरिएको कालीकोटको पहिचान झल्काउने सुनथराली विमानस्थलमा महासंघको साधारण सभा गर्न लागिएको हो । ३६ जना मजदुरले आफ्नो ज्यानको आहुति दिएको सुथराली विमानस्थलमा महासंघको साधारण सभा हुने भएपछि कालीकोट बासी खुसी भएका छन् ।
महासंघको साधारण सभा सम्पन्नका लागि जिल्ला समन्वय समिति र कालीकोट जिल्लाका ९ वटै स्थानीय तहले ऐक्यवद्धता जनाएका छन् । साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने छ । साधारण सभामा महासंघका १० जिल्ला शाखा, १० प्रदेश कार्यसमिति गरी ३ सय भन्दा बढी सदस्यको सहभागिता हुने महासंघले जनाएकोछ ।
कर्णालीपाटी । २ चैत्र २०७९, बिहीबार १४:३०