३ कार्तिक २०८१, शनिबार

आफ्नाे अधिकारकाे प्रत्याभूति कहिले गर्छन् ग्रामिण भेगका महिला


महिला अधिकारका लागि सरकारले विभिन्न किसिमका कार्यक्रम तयार गरेको भएपनि ग्रामिण भेगका महिला अझै चुलो चौकोमा सिमित रहेका छन् । सामाजिकदेखि राजनीतिक क्षेत्रमा ग्रामिण भेगका महिलाको प्रतिनिधित्व नहुने भएपछि उनीहरु चुलो चौकोमा सिमित हुनु परिरहेको छ ।
पितृसत्तात्मक परम्परा, जातीय तथा आर्थिक–सामाजिक विभेदले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा लैंगिक विभेदलाई स्थापित गरेको छ । यस कारण कालीकोटमा मात्र नभएर कर्णाली प्रदेशमै विभिन्न स्तरमा महिलाहरु पछि परिरहेका छन् । लैङ्गिक समानता समाजको हरेक वर्गका महिलाहरुको आवश्यकता, अप्ठ्यारा र अनुभवहरु प्रभावकारी रुपमा एकीकृत गरेर मात्र सुनिश्चित गर्न सकिन्छ । प्रचलित रुपमा सामाजिक संजाल र कार्यक्रमहरुमा हुने महिला अधिकारका कुरामा ग्रामीण तथा आर्थिक–सामाजिक स्थिति कम्जोर भएका महिलाहरुले ठाउँ पाएका छैनन् ।
महिला अधिकार, संविधानले व्यवस्था गरेको छ तर सहरका महिलाको तुलनामा ग्रामिण भेगका महिलाहरुले अहिले पनि महिला अधिकारका विषयमा जानकारी पाउन सकेका छैनन् । महिला अधिकारको कुरा सम्पन्न महिलाहरुका लागि मात्र आएको ग्रामिण भेगका महिलाहरुले महसुष गरिरहेका छन् । विहान उठेदेखि बेलुका नसुतुन्जेलसम्म ग्रामिण भेगका महिलाहरु चुलो चौकोमा नै सिमित हुने गरेका छन् । केही टाठाबाठा महिलाहरु विभिन्न सभा समारोह सार्वजनिक कार्यक्रममा जाने गरेको भएपनि उनीहरुको तुलनामा अन्य महिलाहरु बन्चित देखिन्छन् ।
ग्रामीण तथा विपन्न आर्थिक स्थिति भएका महिलाहरुले सानै देखि आफ्नो परिवार र समुदायमा भुमिका खेलिरहेका छन् । उनिहरुले खाना बनाउने, पानी जम्मा गर्ने, छोरा छोरी हुर्काउने लगायतका एकलौटी जिम्मेवारी र गरिबीका चुनौतीहरु खेप्दै आइरहेका छन् । यो वर्गका महिलाहरुले महिला अधिकारको अनुभूति नै गर्दैनन् । चेतनाको कमिका कारण धेरैका समान सम्पत्ति र पैतृक सम्बन्धी अधिकारहरु अस्विकृत छन् । जति पुरुषद्वारा प्रताडित भएपनि उनीहरुले सम्बन्ध विच्छेद गर्न सक्दैनन् र गरेपनि अंश पाँउदैनन् । उनीहरुले सामान्य शिक्षा र स्वास्थ्य सुविधा पनि पाएका हुदैनन् ।
सहरी क्षेत्रहरुका तुलनात्मक रुपमा सम्पन्न महिलाहरुले यो अनुभव गरेका हुँदैनन् । महिला अधिकारको हरेक ठाउँमा उनीहरुको बहुमत छ । शहरी क्षेत्रमा महिलाहरुको अनुभव, उनीहरुको अवस्था र चेतना फरक छ; जस्तै बस्ने ठाउँ, सम्पत्ति, शिक्षाको स्तरबृद्धि भइरहेको हुन्छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने तथा विपन्न महिलाहरुको तुलनामा सहरी क्षेत्रमा बस्ने महिलाहरुले सेवा र पुर्वाधारमा अधिक पहुँच, रोजगारीमा संलग्न हुने बढी अवसरहरु र तुलनात्मक सामाजिक सांस्कृतिक प्रतिबन्ध नहुने कुराको अवसर छ । यद्यपि सहर तथा सम्पन्न वातावरणमा पनि पुरुषहरुको तुलनामा महिलाहरुको लागि आर्थिक, सांस्कृतिक चुनौती, असमानता र असुरक्षा भने कायमै छ ।
ग्रामीण क्षेत्रका धेरै महिलाहरुलाई महिला अधिकारका बारेमा थाहा छैन, न त अधिकारको बारेमा सामान्य जानकारी नै । कुनै पनि अपराधबाट पीडित भएका महिलाहरु धेरै हेपिएपछि कसैले अधिकार मिचेको पनि थाहा पाउने कुरा हुँदैन । ग्रामीण क्षेत्रका महिलाहरु आफ्नो पारिवारिक जीवनमा बढी व्यस्त छन्, उनीहरुले आफ्नो जीवनको निर्णय आफैं लिन सक्दैनन् । जब एउटा घरमा छोरीले जन्म लिन्छिन् तब कसैलाई उसको राम्रो शिक्षा वा उसको जीवनको ख्याल हुँदैन, सबैलाई उसको वैवाहिक जीवनको बारेमा चिन्तित हुन्छन् ।
महिला अधिकारको विषय यही वर्गले प्रतिनिधित्व गर्ने हुनाले समग्र महिलाको प्रतिनिधित्व यसमा भएको छैन । नेपाल जस्तो विकासोन्मुख देशका धेरैजसो महिलाले विभिन्न प्रकारका असमानता र भेदभावहरुको सामना गनुपर्ने अवस्था छ, जस्तैः– शिक्षाको सिमित पहुँच, सम्पत्तिबाट वञ्चित हुनु पर्ने र जबर्जस्ती विवाहको मुख्य कारण समाजको पितृसत्तात्मक संरचना हो ।

अनि त्यो कुराले लैङगिक असमानता, जबर्जस्ती विवाह र महिलाविरुद्द हिंसा जस्ता सामाजिक कुप्रथालाई प्रोत्साहित गर्दछ । नतिजाको रुपमा, पुरुषहरुको तुलनामा भन्दा कम महिलाहरुको सामाजिक स्तर र साक्षरता, तल्लो तहको शिक्षा र रोजगारीमा कम पहुँच छ । तर, अहिलेको समयमा यो समस्या तुलनात्मक रुपमा विपन्न र ग्रामिण क्षेत्रका महिलामा व्यापक छ । पुरुषलाई ‘उत्पादक’ कार्य तोक्ने परिपाटी समाजमा विद्यमान छ, जबकी महिलाहरुलाई ‘प्रजनन’ कार्य गर्न बाध्य गरिन्छ । यसले भने सबै वर्गका महिलालाई असर परेको छ । यौन उत्पीडन पनि सबै वर्गका महिलाले भोग्नु परेको छ ।
वर्तमान समयमा सबै वर्गका महिलाले बेहोर्ने समस्याविरुद्ध आवाज उठी रहेको छ । तर महिलाको वैयक्तिक विषयमा अघि भनेजस्तै समाजले हस्तक्षेप नगरिदिएको कुराको के औचित्य, जब भान्सा र घरभन्दा बाहिर जीवन छैन भने । शिक्षा र घरका कार्यबाहेक सिप नै नपाएकाले विहे बाहेक उपाय छैन, लाउने कपडाको अभाव छ । साथै अंशको के अर्थ, जब परिवारसंग सम्पत्ति नै छैन ।
महिला आन्दोलनले महिलाहरु समानरुपमा हिंड्न सुरु गरायो । हामी देख्न सक्छौं, सहर तथा तुलनात्मक रुपमा सम्पन्न परिवारका महिला पुरुषसँग प्रतिस्पर्धा गर्न सक्षम छन्, र सशक्त पनि भइरहेका छन् । तर, ग्रामीण क्षेत्रका र तुलनात्मक रुपमा विपन्न, दलित महिलाहरु आहिले पनि घरभित्रै घरका कामदार जस्तै काम गर्छन् । उनीहरुलाई त्यो अधिकारको बारेमा पनि थाहा छैन, जुन तिनीहरु स्वतन्त्र रुपमा हिंड्न सक्छन् र आफ्नो परिवारलाई साथ दिन रोजगार पाउन सक्दछन् ।
धेरै बलत्कारका मुद्दाहरू दर्ता हुँदैनन्, किनकी त्यसको बारेमा कानुन छ भनेर उनीहरुलाई थाहा छैन । गाँउमा कुरा मिलाइन्छ । उनीहरु अझैं पनि ग्रामीण क्षेत्रहरु तथा सहरमा पनि विपन्न परिवारहरुमा चरम लैंगिक भेदभाव र शोषण जस्ता कुरा भोग्दै जीवन बिताइरहेका छन् । उनीहरु आफ्नो घरभन्दा बाहिर अर्को संसार छैन जस्तो भान गरिहेका हुन्छन् । उसो त उनीहरुलाई आफ्नो अधिकारका लागि बुझ्ने बातावरण समेत तयार गरिएको हुदैन् ।
सहरका महिलाहरु विहान उठेदेखि बेलुका सम्म विभिन्न सभा, सभारोह, गोष्ठी राजनीतिक कार्यक्रममा संक्रिय रुपमा लागेको भएपनि ग्रामिण भेगका महिलाहरु विहानै घासदाउराका लागि बनजंगल धाउने गरेका छन् । उनीहरुलाई अझै पनि आफ्नो हक अधिकारको बारेमा जानकारी लिन सकिरहेका छैनन् । ग्रामिण भेगका महिला भन्दा पनि अझ दलित समुदायका महिलाहरु अझै पनि नेतृत्व तहमा पुग्न सकिरहेका छैनन् । राज्यले निर्धारण गरेको कोटाबाहेक दलित समुदायका महिलाहरुको प्रतिनिधित्व हुन सकिरहेको छैन । कालीकोटमा अझै पनि जानेबुझेका नागरिकले महिला अधिकारका बारेमा बुझाउन नसक्ने हो भने महिलाको स्तर माथि उठ्ने संकेत देखिदैनन । त्यसैले सचेत नागरिकले महिला अधिकार, दलित अधिकार, बाल अधिकारका बारेमा सवैलाई पौरवी गर्न आवश्य देखिन्छ ।