५ जेष्ठ २०८१, शनिबार

नगरपालिकाले दिएको विदाका विरुद्ध लागेको भन्दै कार्यपालिका बैठकमा रोक


कालीकोटः कालीकोट जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले फागुन १ गते नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको विरुद्ध लागेको भन्दै वडा नं ४ का वडाध्यक्ष दिनेश संज्याललाई कार्यपालिका बैठकमा रोक लगाइएको हो ।
जनयुद्ध दिवसका दिनमा वडा कार्यालय खुला गरेको र बिदा नगरेको भन्दै कार्यपालिका बैठकमा बस्ने अधिकार नभएको भन्दै बाहिर जान आदेश दिएको वडाध्यक्ष दिनेश संज्यालले बताए । उनले आफुलाई कार्यपालिकाको बैठक बस्ने जानकारी नदिएरै बैठक राखेको आफुलाई अन्य सदस्यले जानकारी दिएपछि बैठकमा जादा नगप्रमुख शाहीले बैठकमा बस्ने अधिकार नभएकाले तपाई बाहिर जानुस् भनी पठाएको संज्यालले बताए ।
फागुन १ गते नगरभर सार्वजनिक विदा दिदा रास्कोटको वडा नं ४ ले अदालतको अपहेलना नगर्ने भन्दै विदा नदिने निर्णय गरेको थियो । उक्त वडाको निर्णयलाई आधारमानी आफुलाई कार्यपालिका बैठकमा बस्न नदिएको वडाध्यक्ष संज्यालले बताए ।
नगरको निर्णय नमान्ने तपाईंलाई बैठकमा बस्ने अधिकार छैन भन्दै नगर प्रमुख शाहीले वडाध्यक्ष संज्याललाई हप्काएका थिए । कार्यपालिका बैठकमा आफु जवरजस्ती बस्न खोज्दा नगरप्रमुख शाहीले बस्न नदिएको बताए ।
अध्यक्ष सज्यालले थपे, ‘आफूलाई सुरुमा बैठकमा बोलाइएन । अन्य सदस्यले बैठक भइरहेको छ जानू भनेपछि म हलमा पुगेँ । हातमा माइनोट आयो । उपस्थिति जनाएपछि मेयर ज्यूले ल जानुहोस् बैठकमा बस्ने अधिकार छैन भन्नुभयो ।’ वडाध्यक्ष सज्यालले अगाडि भने, ‘वडामा किन बिदा नदिएको भन्दै माफी माग्न धम्की समेत दिए । एक्लो मान्छे कतिसँग बोल्नु ? सकेजति प्रतिवाद गरेँ ।’
यता नगरप्रमुख धर्मराज शाहीले आफुले बैठकमा बस्न रोक नलगाएको बताएका छन् । उनले वडाध्यक्षलाई बैठकका लागि खवर गर्न प्राविधिक समस्या भएको स्विकार गरे तर बैठकमा रोक लगाउने काम नभएको बताए ।