कालीकोटमा डढेलोमा परी घाइते बुवा–छोरीकै निधन
सुर्खेत । कालीकोट जिल्लाको खाडाचक्र नगरपालिका– ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते ५० वर्षीय नन्दराम चौलागाईंको बुधबार मृत्यु भएको छ । यहीँ चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो ।
उनलाई ४ दिनदेखि आईसीयूमा राखिएको थियो । उपचारका लागि सबै प्रयास गरे पनि सफल नभएको डा. केएन पौडेलले बताए । चौलागाईंको बिहीबार (आज) सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हिरामणि चौलागाईंले बताए ।
आगोमा जलेर घाइते भएकी उनकी १२ वर्षीया छोरी हेमन्तीको सोमबार दिउँसो मृत्यु भएको थियो । शुक्रबार घर मुनिको वनमा गोठालो गएका बुबालाई दिउँसोको खाजा रोटी पु¥याउन गएकी हेमन्ती र उनका बुबा आगोमा जलेर घाइते भएका थिए ।
उनीहरुका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए । घाइते दुवै बाबुछोरीलाई शनिबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देखि थप उपचारका लागि बेलुकी हेलिकोप्टरबाट सुर्खेत ल्याइएको थियो ।
कर्णालीपाटी । ८ चैत्र २०८०, बिहीबार ०९:३३