३ कार्तिक २०८१, शनिबार

यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु


सुर्खेत । यार्सागुम्बा टिप्नको लागि डोल्पा गएकी युवतीको मृत्यु भएको छ । रुकुमपश्चिम आठविसकोट नगरपालिका– ४ गोतामकोट विष्ट गाउँ निवासी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको हो ।

यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी भएर मृत्यु भएको वडा अध्यक्ष नरसिं विष्टले बताए ।

उनको साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गरेको बेला बाटोमै मृत्यु भएको हो ।

जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि गोतामकोट ल्याइने तयारी गरिरहेको वडा अध्यक्ष विष्टले बताए । ‘जमुनाको घरमा अहिले आमा एक्लै हुनुहुन्छ ।’ उनले भने,‘बुवा र दाइ रोजगारीको सिलसिलामा भारत जानुभएको छ भने जेठी दिदीको विवाह भइसकेको छ ।’