३ कार्तिक २०८१, शनिबार

‘स्वास्थ्य सेवा र स्वास्थ्य पूर्वाधारः स्वस्थ र दीर्घजीवनको आधार’ नारा


सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट ल्याएको छ । ‘स्वास्थ्य सेवा र स्वास्थ्य पूर्वाधारः स्वस्थ र दीर्घजीवनको आधार’ नाराका साथ आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । कर्णालीका सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउनका लागि कर्णाली प्रदेश सरकारले बिषेश जोड दिदैँ असार १ गते शनिबार बजेट ल्याएको हो ।

प्रदेश अस्पताल सुर्खेतबाट प्रदान गरिने विशेषज्ञ स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन जनशक्ति, भौतिक पूर्वाधार, औषधी र उपकरणको सुनिश्चितता गरिने बजेट पेश गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए । ‘यस अस्पताललाई प्रेषण तथा शिक्षण अस्पतालको रुपमा विकास गर्न अध्ययन पश्चात आवश्यक कानुनी व्यवस्था गरिनेछ ।’ उनले भने,‘अस्पतालको पूर्वाधार विकास तथा सुधारको लागि रू.५० करोड विनियोजन गरेको छु ।’

स्वास्थ्य सेवालाई सर्वसुलभ, पहुँचयोग्य र प्रभावकारी बनाउन सल्यान, रूकुम पश्चिम, हुम्ला र दैलेख जिल्लाका जिल्ला अस्पतालहरूको भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिएको छु। यसको लागि रू. २५ करोड ५० लाख विनियोजन गरेको मन्त्री केसीले बताए । ‘सङ्घीय सरकारसँगको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र र मेहलकुना अस्पतालको भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।’ उनले भने,‘रणनीतिक तथा आधारभूत अस्पतालहरूको स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सेवा सुदृढीकरण गरिनेछ । आधारभूत स्वास्थ्यमा सबै नागरिकको पहुँच तथा विरामीको उपचार खर्चमा सहुलियत दिन अपाङ्ग तथा असहाय नागरिकको स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था मिलाएको छु ।’

प्रदेशका सबै जिल्लामा नियमित रूपमा आधारभूत औषधी, गुणस्तरीय स्वास्थ्य सामग्री र उपकरणको आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ र यसका लागि रू.७ करोड रकम विनियोजन गरेको मन्त्री केसीले जानकारी दिए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा उक्त प्रतिष्ठानमा ब्लड बैङ्क स्थापना गरिनेछ । मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर, स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीहरूलाई मेजर अपरेसन गर्दा उपचार खर्च प्रदान गर्ने व्यवस्था मिलाएको छु ।’ उनले भने,‘यी दुबै कार्यक्रमका लागि एक÷एक करोडका दरले रकम विनियोजन गरेको छु ।’

इ–हेल्थ सेवा, टेलिमेडिसिन, विशेषज्ञ सेवा, अस्पताल एवम् प्रयोगशाला सुदृढीकरण र निरन्तरताका लागि रू.७ करोड विनियोजन गरेको मन्त्री केसीले बताए । ‘स्वास्थ्य सेवाको अभिलेख तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित, तथ्यपरक र समयबद्ध गर्न विद्युतीय स्वास्थ्य सूचना अभिलेख प्रतिवेदन प्रणालीको सुदृढीकरण कार्यलाई निरन्तरता दिएको छु ।’ उनले भने,‘सम्भावित महामारी तथा आकस्मिक स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन गर्न महामारी तथा आकस्मिक स्वास्थ्य व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।’

सार्वजनिक स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषणको लागि प्रदेशका “क“ वर्गका स्थानका लागि रू. २ हजार ५ सय र “ख’’ वर्गको स्थानका लागि रू. २ हजार सुत्केरी पोषण भत्ता उपलब्ध गराउन आवश्यक रकम विनियोजन गरेको मन्त्री केसीले बताए ।

कर्णाली प्रदेश सरकारले विगतदेखि सञ्चालनमा ल्याएको प्रति महिला स्वास्थ्य स्वयंसेविकालाई रू.१० हजार प्रोत्साहन भत्ता दिने व्यवस्थालाई निरन्तरता दिएको, यस्तो प्रोत्साहन भत्तालाई स्वयंसेविकाबाट प्रदत्त सेवासँग प्रविधिमार्फत आवद्ध गर्ने र यसबाट महिला स्वास्थ्य स्वयंसेविकाहरू आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी भइ स्वास्थ्य सेवा प्रभावकारी हुने अपेक्षा लिएको मन्त्री केसीले बताए ।

दुर्गम ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई नजिकको स्थानबाट न्यूनतम् आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा सामुदायिक स्वास्थ्य इकाईहरूको सञ्चालनलाई निरन्तरता दिएको मन्त्री केसीले बताए । ‘प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको सुदृढीकरण गरी कर्णालीका जडीबुटी प्रयोग गरी आयुर्वेद औषधीको उत्पादन शुरू गरिनेछ ।’ उनले भने,‘जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रहरूको समेत सुदृढीकरण गरी आयुर्वेद उपचार पद्धतिलाई प्रोत्साहन गरिनेछ । नागरिक आरोग्य केन्द्रहरूको प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन हुने गरी बजेटको प्रबन्ध गरेको छु ।’

नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कर्णाली स्वस्थ नागरिक विशेष अभियान अन्तर्गत प्रदेश सरकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्थानीय तह र सरोकारवाला संस्थाहरू समेतको सहयोग एवम् साझेदारीमा नागरिकको घरदैलोमा स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सेवा पुरÞ्याउन विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने मन्त्री केसीले बताए । ‘यसका लागि रू. ८ करोड विनियोजन गरेको छु ।’ उनले भने,‘सुरक्षित मातृत्व, पोषण, रोग नियन्त्रण र उपचारात्मक सेवा सुदृढीकरणमा विशेष प्राथमिकता दिइनेछ ।’

अस्पतालमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मीको क्षमता विकास गर्न तालिम, प्रशिक्षण जस्ता कार्यक्रमहरू सञ्चालनलाई निरन्तरता दिइने मन्त्री केसीले बताए । ‘सङ्घीय सरकार, स्थानीय तह तथा विकास साझेदार समेतको सहकार्यमा मानसिक रोग लगायत अन्य नसर्ने रोगको नियन्त्रणका लागि प्रतिरोधात्मक, उपचारात्मक र प्रर्वधानात्मक कार्यक्रमहरू सञ्चालनमा ल्याइनेछ ।’ उनले भने,‘मातृ मृत्यु, बाल मृत्यु, शिशु मृत्यु, नवजात मृत्युदरलाई न्यूनीकरण गर्न सचेतना, परामर्श, सामाजिक व्यवहार परिवर्तन, पोषण, खोप, उपचार सेवालाई सशक्त बनाइनेछ ।’

पोषण सेवा केन्द्रको सुदृढीकरणमा ध्यान दिईनेछ र कर्णाली प्रदेशमा पोषणको क्षेत्रमा काम गर्ने विकास साझेदार संस्था एवम् सरोकावालासँग समन्वय तथा सहकार्य गरी पोषणसम्बन्धी विभिन्न कार्यक्रमहरूलाई सामञ्जस्यता कायम गरिने मन्त्री केसीले बताए ।