१५ बैशाख २०८१, शनिबार

नौमूलेमा खाद्य डिपो स्थापना गरिँदै


दैलेख । नौमूले गाउँपालिकामा बर्सेनी खाद्यान्न बाली उत्पादनमा ह्रास हुँदै गएपछि त्यस भेगमा भोकमरी हुने भन्दै खाद्य डिपो स्थापनाको तयारी थालिएको छ । नौमूले गाउँपालिकाका सबै वडामा बर्सेनी असिना पानीले अन्नबालीमा क्षति पु¥याएसँगै खाद्यान्न उत्पादनमा ह्रास आएकाले त्यस भेगका स्थानीयको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले खाद्य डिपो स्थापनको तयारी गरेको हो ।
गाउँपालिकाले कार्यपालिका बैठकबाट निर्णय गरी जिल्ला खाद्य संस्थान र प्रशासनमा खाद्य डिपो स्थापनाका लागि पत्र पठाएसँगै प्रक्रिया अगाडि बढेको गाउँपालिकाले जनाएको छ । जिल्लामा हुने सबै काम भएको र नेपाल खाद्य संस्थान काठमाडौँमा डिपो स्थापनाका लागि काम भएको गाउँपालिकाले जनाएको छ ।
जलवायु परिवर्तनको असर र दिनानुदिनको उत्पादनमा आएको ह्रासले आफ्नै खेतबारीबाट १२ महिनासम्म खान नपुग्ने अवस्था सिर्जना र बर्से्नि अन्नबाली हावाहुरी र असिनाले सखाप हुन थालेपछि त्यसको विकल्प खोज्दै खाद्य डिपोको स्थापना गर्न पहल थालिएको गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर बताउँछन् । अध्यक्ष बुढाका अनुसार खाद्य डिपोका लागि आवश्यक पूर्वतयारी गरी गाउँपालिका अगाडि बढेको छ । गाउँपालिकाले नौमूले बजारमा खाद्य डिपो स्थापना गर्न आवश्यक पहल गर्ने भन्दै कार्यपालिका बैठकबाट ६ रोपनी जग्गा खरिद र खाद्य गोदाम निर्माण गर्न २० लाख रकम छुट्याउने निर्णय गरेको अध्यक्ष बुढा बताउँछन् ।
त्यसैगरी गाउँपालिकाले खाद्य डिपो स्थापनाका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिस प्राप्त गरेको छ । ति निकायबाट प्राप्त सिफारीससहित नेपाल खाद्य संस्थान काठमाडौंमा काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।