कालीकोटमा कोराना नआओस भन्दै देविदेउतालाई भाकल


कालीकोटः संसारभरी फैलिएको नोवेल कोरोना (कोभिड (१९) भाइरसको संक्रमण जिल्लामा नआओस भन्दै कालीकोट जिल्लाको रास्कोट नगरपालिकाका स्थानीय नागरिकले आफुले मान्दै आएको देविदेउताका थानमा बली दिदै भाकल गर्न सुरु गरेका छन् ।
कोरोना भाइरसको संक्रमण कालीकोटमा फैलन नदिन शक्ति स्वरुप शिवनाथ र धलपुरा शक्तिपिठमा बली दिन सुरु गरेका हुन् । ‘हामीले भाकल गरेका छौं, सवैभन्दा ठुलो, सवैले विश्वास मान्दै आएका शिवनाथसंग भाकल गरेका र्छौ शिवनाथको कृपादृष्टिले कोरोनाको संक्रमण हाम्रो क्षेत्रमा आउने छैन,’ रास्कोट नगरपालिका वडा नं ७ का नमराज महताराले भने, ‘कालीकोटजस्तो पवित्र भूमिमा यस्ता संक्रमण आउने छैन् भन्ने हामीलाई विश्वास छ ।’
कोराना भाइरस संक्रमण नहोस् भन्नका लागि यतीबेला कालीकोटका विभिन्न ठाउँमा देविदेउताका नाममा बलीदिन सुरु गरिएको छ । धलपुरा देउताले परापूर्वक कालदेखि मनोकाँक्षा पुरा गर्दै आएकाले यस पटक पनि आफ्नो मनोकाँक्षा पुरा हुने भएकाले आफुहरुले बली दिन लागिएको रास्कोट नगरपालिका वडा नं ७ का अजबहादुर महताराले बताए । उनले भने, ‘संसारभरि क्या रोग आयो भन्दा, त्यो रोगकन कान सुनाउनु आँखा नदेखाउनुभन्दै भाकल गरेका र्हौ ।’
विहिवार विहान जिल्लाको रास्कोट नगरपालिमा वडा नं ७ मा जम्मा भई स्थानीय धलपुरा देउतालाई बोको भाकल गरी अन्य देशमा फैलिएको महामारी आफ्नो देशका साथै आफ्नो जिल्लामा फैलिन नदिने दावी गरिरहेका रास्कोटबासीले पहिला पनि विभिन्न देविदेउतालाई यसरी नै भाकल गर्ने गरेको बताएका छन् ।
कर्णालीपाटी । ८ चैत्र २०७६, शनिबार १४:४४