२० बैशाख २०८१, बिहीबार

वीरेन्द्रनगरमा पत्रकार डेकेन्द्र थापाको स्मृतिसभा


सुर्खेत । तत्कालीन समयमा विद्रोही पक्षबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको १७औँ स्मृतिसभा मंगलबार वीरेन्द्रनगरमा मनाइएको छ । प्रस्तावित ‘सहिद डेकेन्द्र थापा स्मृति प्रतिष्ठान’ ले कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमका सहभागिहरुले राज्यले पत्रकार थापाका परिवारलाई अझैसम्म न्यायको अनुभूति दिन नसकेको बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले थापाको हत्यामा संलग्नलाई बचाउन अनेक प्रयत्न भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दवावमा कानुनी कारबाहीको प्रक्रिया सुरु भएको बताए ।

यस्तै नेपाल महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाले पत्रकार थापाले गरेको पत्रकारिताबाट नयाँ पुस्ताका पत्रकारलाई पनि सिकाइ हुने बताए । थापाको २०६१ साउन २७ गते विद्रोही पक्षबाट हत्या भएको थियो । कार्यक्रममा उनकी श्रीमती लक्ष्मी थापाले न्यायको लडाइँ अझै पनि जारी रहेको बताइन् । श्रीमान्को हत्या भएपछि पनि न्यायको लागि संघर्ष गर्नुपर्दा झन पीडा महसुस भएको उनको भनाइ छ