१४ बैशाख २०८१, शुक्रबार

उपचारका लागि न जेनेरेटर न बत्ति, सेवाग्राहीका लागि छैन चर्पी


कालीकोटः कालीकोटमा रहेको एक मात्र जिल्ला अस्पतालको सेवा र गुणस्तर सुधारका लागि विभिन्न प्रयास भए पनि कहिल्यै सुध्रिन सकेको छैन । यहाँको सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न पहल पनि भए । तर जिल्ला अस्पतालको सेवा सुविधामा परिवर्तन अझै हुन सकेको छैन ।
सरकारी तवरबाट चासो कम हुनु र स्थानीय समितिको पनि बेवास्ताले नै अहिले निजी मेडिकल फस्टाउने र सरकारी अस्पतालमा बिरामी नजाने अवस्था आएको छ । सधैभरी औषधिको अभाव र यहाँको व्यवस्थापनले गर्दा नै यहाँको सेवामा गुणस्तरहीन हुँदै गएको छ । अझै अच्चमको कुरा त साउन यता जिल्ला अस्पताल कालीकोटले मोवाईल टर्चकै भरमा विरामीको उपचार गर्दै आइरहेको छ । जिल्ला अस्पतालमा उपलव्ध भएको जेनेरेटर मर्मत गर्न र सोलार जडान गर्न नसक्दा विरामीलाई चिकित्सकले मोवाईल टर्चकै भरमा उपचार गर्न बाध्य भएका छन् ।


खाडाचक्र नगरपालिका वडा नं २ स्थिति चौडमा रहेको जिल्ला अस्पतालमा सेवा राम्रो भएर बिरामी हुँदा गएँ भन्ने केही भेटिन्छन । अस्पतालमा डाक्टर पनि छन् सेवा पनि राम्रो भएछ भन्नेहरू पनि नभएका होइनन् । तर यहाँको अवस्था सुध्रिन भने अझै सकेको छैन । पछिल्लो समय कालीकोटमा बत्ति नियमित नहुँदा विरामीले पाउनु दुख पाएका छन् ।
सेवाग्राहीले अहिले पनि ७० प्रकारको औषधि निशुल्क पाउन पर्ने भएपनि जिल्ला अस्पताल कालिकोटबाट पाएका छैनन । त्यहाँ ७० प्रकारको औषधि पाइन्छ भन्ने बोर्ड नै छैन । औषधि के पाउनु ?’ सेवाग्राहीले गुनासो गरे ।

चर्पी नहुँदा सेवाग्राही मर्कामा
त्यस्ती मात्र होइन अस्पताल भित्र रहेको बिरामी जाँच गर्ने, गर्भवती कक्ष र बिरामी भर्ना गर्ने स्थानमा पुग्दा भने चर्पी गन्हाएर बिरामीले हैरान खेप्छन् । बिरामी जाँच गर्ने डाक्टरसमेत हैरानी खेपे पनि खासै बोल्न सक्दैनन् ।
बिरामीले भर्ना भएर बस्न नसकेर आफै डिस्चार्ज माग्ने अवस्था जिल्ला अस्पताल कालीकोटमा छ । अस्पतालमा पछिल्लो समय लापरवाही बढेको छ । अस्पतालमा विरामी र उनका कुरुवाहरुका लागि निमार्ण गरिएका चर्पिमा फोहोर भरीएको छ त्यसको सरसफाईका लागि स्वास्थ्य व्यवस्थापन समितिले चासो देखाएको छैन । अस्पताल व्यवस्थापनाका लागि आएको रकम पनि कसको गोजिमा जान्छ भन्नेमा प्रश्न उठाउनुपर्ने पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।


उनले वर्षेनी अस्पताल व्यवस्थापनका लागि आउने लाखौ रुपैया कसरी सकिन्छ अस्पतालाको व्यवस्थापना ज्यूँ का त्यूँ छ । उनले विरामी उपचारका लागि राती गएमा सेवा पाउन पनि मुस्किल हुने गरेको उल्लेख गरे । विरामीको उपचारका लागि खटिएका स्वास्थ्यकर्मीले अनुहार हेरेर विारामीको चेकजाँचमा तदारुकता देखाउने गरेको सेवाग्राहीको भनाई छ ।

दरबन्दी अनुसार छैनन् चिकित्सक

जिल्ला अस्पताल कालिकोटमा दरबन्दी अनुसारका चिकित्सक नभएको सूचना अधिकारी कटकबहादुर महतले बताए ।
उनले जिल्ला अस्तालामा १० जनाको दरबन्दी हुनुपर्नेमा ३ जनामात्र दरबन्दीका चिकित्सक रहेको जनाए । जिल्ला अस्पतालमा मेडिकल अफिसरका लागि चार जनाको दरबन्दी रहेपछि अहिले १ जना मात्र रहेको महतले बताए । उनले भने, ‘डेन्टल, आयुर्वेद र मेडिकल अफिसर मात्र दरबन्दीमा छन् ।’ यो वर्ष अस्पताल व्यवस्थापनाका लागि कति रकम प्रदेश सरकारबाट आयो एकिन नभएको सूचना अधिकारी महतले बताए ।