८ जेष्ठ २०८१, मंगलवार

एकै दिन कर्णालीमा १ सय ३३ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप एक सय ३३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा एक सय १२ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच जना, दैलेख अस्पताल प्रयोगशालामा ६ जना र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षण १० जनामा संक्रमण पुष्टी भएको हो ।

नयाँ संक्रमित सुर्खेतका ७१ जना, दैलेखका १८ जना, रुकुम पश्चिमका १० जना, जुम्ला र कालिकोटका ६, ६ जना, सल्यान, हुम्ला, मुगुका दुई, दुई जना र अन्य प्र्रदेशका १६ जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या चार हजार चार सय १५ पुगेको छ ।

५९ जना निको भए

पछिल्लो २४ घण्टामा थप ५९ जना संक्रमित निको भएका छन् । यो संगै हाल सम्म कुल निको हुनेको संख्या तीन हजार चार सय २५ पुगेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ११ जनाको मृत्यु भएको र आठ सय ५७ जना प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेको जानकारी दिए ।