८ जेष्ठ २०८१, मंगलवार

अविश्वासको प्रस्तावको बिषयमा ओली र प्रचण्ड बिच छलफल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार राखिएको अविश्वासको प्रस्तावको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बिच सोमबार बिहान छलफल भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले राखेको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

छलफलमा अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेको स्रोतले जनाएको छ ।

अध्यक्ष दाहालले अध्यक्ष ओलीसँग कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे यस्तै गतिविधी अन्य प्रदेशमा पनि देखिने र यसले एकतामा आँच पुग्ने बताएका थिए ।

कर्णाली प्रदेश नेकपामा सांसदहरुले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन प्रस्ताप पेस गरेपछि राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न भएको छ । प्रदेशमा नेकपाको कुल ३३ सिट रहेको छ । अविश्वास प्रस्तावमा नेकपाका कुल ३३ सांसद मध्ये १८ जनाले हस्ताक्षर गरेका छन् ।