२१ बैशाख २०८१, शुक्रबार

सार्वजनिक यातायातले सबै सिटमा यात्रु बोक्न पाउने


काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पुरानै भाडामा र सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।

अब दशैँको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानै दरमा लिनुपर्ने निर्णय भएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ ।