२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको तर्फबाट सुवास नेम्वाङले भने, अविश्वासको प्रस्ताव अघि नबढाउनुस्


सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका देखिएको विवादले केन्द्रीय राजनीतिक मावल समेत तताएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव पेश गरे पछि तीन दिन देखि कर्णालीको राजनीतिक मावल तातिएको हो ।

अविस्वासको प्रस्ताव फिर्ता गराउन पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा अन्य नेताहरु सक्रिय रुपमा लागिरहेका छन् ।

जस अन्तर्गत मंगलबार पूर्वसभामुख एवम् नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाएका छन् । उनले अविश्वासको प्रस्ताव अगाडि बढाउन नेतृत्व गरेका प्रदेश सभा सदस्य यामलाल कँडेलसँगको टेलिफोन कुराकानीमा अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाएको बताए ।

‘मलाई साथीहरूले अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रिया सोधेका थिए’, नेम्वाङले भने, ‘मैले पार्टीभित्रको विषय भएकाले सरसल्लाह गरेर मिलाउन भनेको छु ।’

आफूलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रियाको विषयमा जानकारी भएपनि बताउँदा त्यसलाई समर्थन गरेको आशय देखिने भएकाले नबताएको उल्लेख गरे ।

नेम्वाङले कर्णाली प्रदेशमा भैरहेको गतिविधिबारे आफूले टेलिफोनमा प्रधानमन्त्रीसँग पनि कुराकानी गरेको बताए । ४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । जस मध्ये १८ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । जसमा पूर्व एमाले र पूर्व माओवादी दुवै पक्षका नेताहरु रहेका छन् ।