१४ बैशाख २०८१, शुक्रबार

नेकपा कर्णालीको विवादबारे छलफल गर्न बोलाउँदा गएनन् प्रचण्ड


काठमाडौं ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न प्रधानमन्त्रीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाउँदा प्रचण्ड गएका छ्रैनन् । स्रोतका अनुसार प्रधानमन्त्रीले बोलाउँदा प्रचण्डले तपाई आफै छलफल गर्नुस भनेका छन् ।

प्रदेश सरकारका देखिएको विवाद समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनदेखि काठमाडौंमा छन् । विहीबार र शुक्रबार दुईदिन कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका उनीहरु शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले काठमाडौं बोलाएका हुन् ।

प्रदेश कमिटीका पदाधिकारीहरु तीन दिन पहिले नै काठमाडौं आइपुगे पनि प्रधानमन्त्री ओलीले भेट्ने समय नदिएका कारण विहीबार र शुक्रबार प्रचण्डले एक्लै छलफल गरेका थिए । अर्का बरिष्ठ नेता माधव कुमार नेपालले पनि प्रदेश कमिटीका पदाधिकारीहरुसँग छलफल गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले चाहिँ तीन दिनपछि बल्ल शनिबार बिहान मात्रै उनीहरुलाई सामुहिकरुपमा भेट्ने समय दिएका हुन् ।

कर्णाली प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश कमिटीका सहइन्चार्ज यामलाल कँडेल, प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, र प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायत तीनै गुटका नेताहरु काठमाडौं गएका छन् ।