५ बैशाख २०८१, बुधबार

‘कि सास चाहियो, कि लास’


कालीकोटः आज ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस कालीकोटमा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी शाखा कालीकोटको आयोजनामा अन्तराष्ट्रिय बेपत्ता दिवस मनाइएको हो । नेपाल रेडक्रस सोसाइटी शाखा कालीकोटका सभापति बलप्रसाद संज्यालको अध्यक्षता खाडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको विशेष आतिथ्यतामा बेपत्ता दिवस मनाइएको छ ।
सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिस अझै सम्पर्कमा आउन नसकेको अन्तरक्रियामा सहभागिहरुले बताएका छन् । बेपत्ता पारिएका व्यक्तिका आफन्तले अझै पनि आफ्ना मान्छेहरु आउने आशामा पर्खिरहेका छन् तर यतिका वर्ष बिति सक्दा पनि नआउँदा पीडा थप बढेको छ । नेपालमा पनि बेपत्ता परिवारको खोजि कार्य गर्न विभिन्न आयोगहरु बनेपनि अहिलेसम्म खोजि हुन सकेको छैन ।
बेपत्ता परिवारका तर्फबाट बोल्दै दमनबहादुर शाहीले बेपत्ता पारिएका नागरिकको कि सास चाहियो, कि लास चाहियो भन्दै प्रश्न गरे ? उनले ‘अहिले पनि आफ्ना आफन्तको पर्खाइमा परिवार रहेका छन् ।’ राज्यले बेपत्ता पारिएका नागरिकको खोजि नगर्नु राज्य जनताप्रति उत्तरदायि नरहेको उनको भनाई छ । सशस्त्र द्वन्द्वका क्रममा पीडितलाई न्याय दिनका लागि गठन गरिएका बेपत्ता र सत्यनिरुपण आयोग गठन भएको भएपनि बेपत्ता परिवारले अहिलेसम्म न त सास न लास, न राहत केही पनि पाएका छैनन् । उनीहरु बेपत्ता पारिएका आफ्ना आफन्त आउने आशमा बसेका छन् । न्याय दिनका लागि गठन गरिएका यी दुई आयोगले भनेजस्तो काम गर्न नसकेको बेपत्ता परिवारका आफन्तरको गुनासो छ ।